गण्डकी प्रदेश, दुर्घटना

तनहुँ सवारी दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

जगत ठाडा मगर
२०८० कार्तिक २६ | बिहान ०७:०७ बजे

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । दुर्घटनामा घाइते गङ्गाबहादुरको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको उनले बताए ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरीत दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय विशाल बराली घाइते भएका छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको छ । माइक्रो र चालक प्रहरी नियन्त्रणमा छन् ।

कमेन्टहरु