आलुको बिउमा कृषकलाई झुक्याउँदै बाच्छावोट कृषक समुहका अध्यक्ष रामप्रसाद पराजुली


अमृत भट्टराई
पर्वत, कार्तिक २४ । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर बाच्छावोटमा रहेको बर्राचौरकै पुरानो कृषक समुह बाच्छावोट कृषक समुहका अध्यक्ष रामप्रसाद पराजुलीले समुहका सदस्यलाई अचम्मित तरिकाले झुक्याउँदै गर्दा सत्य कुरा बहिरिएको छ ।
यतिबेला पहाड र तराईका केही भेगमा धानखेती थन्काएर विभिन्न नगदेबाली खेती गर्दैछन् कृषकहरु । यहीँ मौकामा चौका थाप्दै बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको बाच्छावोट कृषक समुहका अध्यक्ष रामप्रसाद पराजुली कृषक समुहका सबै सदस्यलाई उन्नत जातको (जनकदेव) आलुको बिउ लिएर दिने भन्दै पोखराबाट ३० कुइन्टल आलु मगाएका थिए । उनले मगाएको बिउ आलु मध्ये २० कुइन्टल खाने आलु र १० कुइन्टल बिउ आलु रहेको पाइएको छ ।
बिउका लागि ल्याएको आलु आधाआधि कुहिएको र ठुलो देखिएपछि समुहका सदस्य गोविन्द उपाध्यले उक्त आलु लगाउन ठिक छ कि छैन भनेर पर्वत कुश्मामा रहेको कृषि ज्ञान केन्द्रमा परिक्षण गर्न पठाएकोमा कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले उक्त आलु बिउ नभइ खानका लागि उपयुक्त हुने बताए ।
उक्त आलु खरिद गर्दा कृषक समुहका सदस्यलाई ७५% अनुदान र २५ % सदस्यको पैसाले किन्न पाउने भनिएपनि उक्त आलुको मुल्य सामान्य बजारमा पाइने भन्दा महंगो रहेको समुहका सदस्य हिमराज पराजुलीले बताए । उक्त बिउ आलुको मूल्य प्रतिकेजी ८५ तोकिएको थियो ।
यस्तै सोही वडामा रहेको आत्मनिर्भर कृषक समुहले आफ्नो सदस्यलाई जनकदेव जातको बिउ आलु स्याङ्जाको गल्याङबाट मगाएर प्रतिकेजी ६५ का दरले वितरण गरेको छ ।























