काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

नवलपुर टुडे
२०८० कार्तिक २४ | मध्यान्ह १२:०७ बजे

काठमाडौं, कार्तिक २४ । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ ।
विगतका वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको थियो । तर, यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको उनले उल्लेख गरेका छन् । सो समयसम्म मर्यादित भएर देउसीभैलो खेल्न उनले अनुरोध गरेका छन् ।
सोहीअनुसार नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाउन समेत उनले आग्रह गरेका छन् ।























