लुम्बिनी प्रदेश

रुपन्देहीमा भण्डारण गरी राखिएको १ करोड बढीको माला बरामद

जगत ठाडा मगर
२०८० कार्तिक २४ | बिहान १०:०७ बजे
फाइल तस्बिर

बुटवल, कात्तिक २४ । रूपन्देहीको मायादेवी गाउँपालिका – ८ बसडिलवास्थित एक गोदामबाट प्रहरीले ठूलो परिमाणमा सयपत्री फूलका माला बरामद गरेको छ । रूपन्देही प्रहरीका अनुसार सिद्धार्थ कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको झन्डै १ करोड बराबरको सयपत्री फूलका माला बरामद गरिएको हो ।

कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको फूलका माला भारतबाट भन्सार छलेर ल्याइएको आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ । तिहारलाई लक्षित गरी जिल्लाका किसानहरूले उत्पादन गरेको फूल बारीमै कुहिने अवस्थामा पुग्दा कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको अवस्थामा फूलका माला बरामद भएको हो ।

यसबारे प्रहरीले कोल्ड स्टोर सञ्चालक लक्ष्मीदास मानन्धरसँग सोधपुछ समेत गरेको छ । सोधपुछ गर्दा मानन्धरले जिल्लाकै किसानहरूले उत्पादन गरेको फूल उनीहरूकै आग्रहमा भण्डारण गरेर राखिएको बताएको रूपन्देहीका डिएसपी मनोहर भट्टले जानकारी दिए । तर, जिल्लाका फूल उत्पादक किसानहरूबाट भने कोल्ड स्टोरमा फूल भण्डारण गरेर राखिएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।  

जिल्लाकै किसानहरूको हो भन्ने पुष्टि नभएकाले प्रहरीले उक्त फूल अवैध तरिकाले नेपाल भित्रिएको आकलन गरेको छ । त्यसबारे थप अनुसन्धान भइरहेको डिएसपी भट्टले बताए ।  

 

कमेन्टहरु