मधेश प्रदेश

वडाध्यक्ष कलवार माथि पर्सागढी नगरपालिकाद्धारा कारवाहीको माग

रंजित चौरसिया
२०८० कार्तिक २४ | बिहान ०७:०७ बजे

वीरगंज । पर्सागढी नगरपालिकाले बिहिवार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी वडा नं. ६ का वडाध्यक्ष नवलकिशोर प्रसाद साह कलवार माथि कारवाहीको माग गरेको छ । आयोजित पत्रकार सम्मेलनमा मेयर गोकर्ण पाठकले बुधबार २२ गते कार्यपालिकाको बैठक सुरु हुनु भन्दा अगाडि नै वडाध्यक्ष कलवारले नगरपालिकाको सानो सभाहलमा राखिएको ३ थान सि.सि. क्यामरा तोडफोड गरेको अर्को सिसि क्यामरामा फुटेज कैद रहेको बताए ।

उनले सिसि क्यामरा तोडमटोर गरिरहदा वडा नं. ७ का वडाध्यक्ष शंकर रायभर बैठक हल भित्रै बसेको सो फुटेजमा देखिएको छ । बैठकको मर्यादा अमन चैन र शान्ति सुरक्षा माथि प्रतिकुल प्रभाव पार्ने उदेश्यले सो कार्य गरिएको हामी महसुस गरेका छौं । दोषी माथि सि.सि. क्यामराको समय र क्यामरा फुटेज रेकर्डको आधारमा मुलुकी अपराध संहिता २०७४ को दफा २८५ अनुसार कारवाही गर्न प्रहरी प्रशासन सँग आग्रह गरेका छन् ।

सो पत्रकार सम्मेलनमा उपमेयर पूजा चौधरी, वडा नं. १ का वडाध्यक्ष राकपुर खवास, वडा नं. २ का वडाध्यक्ष बिरेन्द्र प्रसाद महतो, कार्यपालिका सदस्यहरु सिता देवी लामा, सविता गिरी, मोहनलाल महतो, दिल बहादुर भुजेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत जंग बिजय साह लगायतको उपस्थितिमा मेयर पाठकले यस्तो निन्दनिय कार्य प्रति खेद प्रकट गर्दै जोडदार रुपमा कारवाहीको माग गरे ।

कमेन्टहरु