भूकम्प प्रभावित क्षेत्रमा पुगेको संसदीय समितिलाई उपप्रधानमन्त्रीको ब्रिफिङ : साढे दुई अर्बबराबरको क्षति भएको प्रारम्भिक अनुमान


जाजरकोट । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा करिब दुई अर्ब ४५ करोडबराबरको क्षति भएको छ । स्थलगत अध्ययन र अनुगमनका लागि पुगेको संसदीय समितिको टोलीसँग उपप्रधानमन्त्री, मन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपछिको अवस्थाबारे ब्रिफिङ गरेका हुन् । ब्रिफिङका क्रममा सरकारी अधिकारीले हालसम्म करिब दुई अर्ब ४५ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रस्तुत गरेका थिए । सरकारी तथ्यांकअनुसार भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रूपमा क्षति पुगेको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा ९ सदस्यीय टोली बुधबार सुर्खेत हुँदै जाजरकोट पुगेको छ । बुधबार बिहान सुर्खेत पुगेको टोलीले त्यहाँ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग हालसम्मको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी लिएको थियो ।
मन्त्री खड्काले राहत वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइते मात्र आइसियूमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेको जानकारी गराएका थिए । टोलीले बुधबार साँझ प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाबाट भूकम्पले पुर्याएको क्षति, उद्धार, राहत र पुनर्स्थापनाको प्रगतिबारे जानकारी लिएको छ ।
सभापति खतिवडाका अनुसार अहिलेसम्म करिब ८० प्रतिशत पीडितलाई राहत उपलब्ध गराइएको, उद्धारको काम सकिएकाले अब राहत वितरणका काममा केन्द्रित भएको, आवश्यकताअनुसार कम्तीमा २० जना अट्ने त्रिपाल ठाउँठाउँमा राखेर पीडितलाई सहयोग उपलब्ध गराइएको छ । टोलीमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद दिलेन्द्रप्रसाद बडू, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, राप्रपा नेता बुद्धिमान तामाङ, जनमोर्चाका चित्रबहादुर केसीलगायत छन् ।























