शिक्षा

विद्यालय भवन, पुस्तकालय र स्मार्ट बोर्डको एकैसाथ उद्घाटन

जगत ठाडा मगर
२०८० कार्तिक २३ | बिहान ०६:०७ बजे

नन्द किशोर कुर्मी (लालु )
कपिलवस्तु, कार्तिक २३ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ७ गणेशपुरमा अवस्थित लौटन राम द्रोपदी देवी माध्यामिक विद्यालयमा नयाँ चार कोठे विद्यालयको भवन, पुस्तकालय र स्मार्ट बोर्डको एकैसाथ उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता र गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बुधबार संयुक्त रुपमा विद्यालयको भवन, पुस्तकालय र स्मार्ट बोर्डको उद्घाटन गरेका हुन् ।

विद्यालयको भवन ५० लाख १३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरीले जानकारी दिए । उनले विद्यार्थीको शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै पुस्तकालयको व्यवस्थापन र स्मार्ट बोर्ड जडान गरिएको जनाए । यसले विद्यार्थीको शिक्षण सिकाईमा सहजता ल्याउने बताउँदै स्मार्ट बोर्डले शैक्षिक गुणस्तरमा टेवा पुग्ने प्रधानाध्यापक चौधरीको भनाई छ ।

photo 2023 11 09 06 48 40

प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले शिक्षामा लगानी गरे मात्र देशमा विकास हुने बताएका छन् । उनले शिक्षाको विकासका लागि विजयनगर गाउँपालिकामा विद्यालयलाई जग्गासमेत दान गर्दै आएको बताए । गणेशपुर र वडा नम्म्बर ६ बद्धौरमा पनि विद्यालयलाई जग्गा उपलब्ध गराएको बताउँदै अझै शैक्षिक क्षेत्र सुधारका लागि सरकार समक्ष पहल गर्ने बताए । शैक्षिक गुणस्तरीयता बढाउनका लागि निरन्तर लाग्ने बताउँदै शिक्षामा लगानी नभएसम्म देशको प्रगति नहुने सांसद गुप्ताको भनाई छ । उनले आफ्नो भविष्य बनाउन विद्यार्थी स्वयम लगनशील हुनेपर्ने बताउँदै अभिभावकले पनि आफ्नो बच्चाका लागि समय दिन आवश्यक रहेको जिकिर गरे ।

यसैगरी गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षा क्षेत्र सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताएका छन् । विद्यार्थीको अनुपातमा गाउँपालिकामा ८० बढी शिक्षक आवश्यक रहेको बताउँदै शिक्षक परिपुर्तिका लागि सांसद गुप्तासँग सम्बन्धित निकायमा पहल गर्न उनले आग्रहसमेत गरे । उनले विद्यालयप्रति अभिभावक लगायत सबैले जिम्मेवार हुनुपर्ने बताउँदै गैरजिम्मेवार भएमा खोजेको शिक्षा प्राप्त गर्न नसक्ने जिकिर गरे । शिक्षाको भविष्य निर्माण गर्न विद्यालय परिवारले योजनाबद्ध ढङ्गबाट लाग्नुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।

photo 2023 11 09 06 48 42

शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले स्मार्ट बोर्डले विद्यार्थीको पढाईमा सहजता ल्याउने बताए । उनले इन्टरनेटको युग भएकोले शिक्षकको अनुपस्थितिमा स्मार्ट बोर्डले अर्को विद्यालयबाट पनि जोडिएर शिक्षण गराउन सकिने बताए । प्रविधिको युगले शिक्षाको सिकाईमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सिक्ने कुराको अभाव हुन नदिनुपर्नेमा उनले जोड दिए । लौटन राम द्रोपदी देवी माविले धेरै छोटो समयमा शिक्षामा फड्को मारेको बताउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थीलाई टिकाउन आवश्यक रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौधरीले शिक्षाको गुणस्तरीय र व्यवस्थापनका स्वर्णिमा जयन्तीमा ३ दिने महायज्ञ सञ्चालन गर्ने योजना बनाएको बताए । उनले विद्यालयको लागि थप आवश्यक भौतिक संरचना निर्माण गर्न सम्बन्धित निकायमा पहल गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, दूधाधारी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुग्रीव प्रसाद कोरी, त्रिनेत्र माविका प्रधानाध्यापक बालजी चौधरी लगायतले सम्बोधन गरेका थिए ।

कमेन्टहरु