लुम्बिनी प्रदेश

लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

जगत ठाडा मगर
२०८० कार्तिक २२ | मध्यान्ह ०७:०७ बजे

बुटवल । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरूले भूकम्प पीडितहरूलाई आर्थिक सहयोग गर्ने भएका छन् ।  भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि रकम दिने भएका हुन् । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले एकदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए । 

प्रमुख सचिवको अध्यक्षतामा बसेको बैठकले एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीहरूले तीन दिनको तलब, अधिकृत छैटौँदेखि दसौँ तह वा सो सरहसम्मका कर्मचारीले दुई दिनको तलब र सहायक स्तर र तह विहीन  कर्मचारीहरूले एक दिनको तलब भूकम्प पीडितहरूका लागि उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन् । गत शुक्रबार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिममा माननीय तथा भौतिक क्षति पुर्‍याएको छ ।  

कमेन्टहरु