महसुल नतिरेपछि गण्डकीमा भौतिक मन्त्रालयको बिजुली काटियो


पोखरा, कार्तिक २० । नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बिजुली काटिदिएको छ । ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिएको पोखरा वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहका अनुसार मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न छ । ‘मन्त्रालयको धेरै बक्यौता थिएन । तर, ६० दिन काटिसकेको थियो । त्यसपछि हामीले बिजुली लाइन काटिदिएका हौं,’ सिंहले भने, ‘मन्त्रालयको माथि सोलार छ, विद्युतको लाइन नभए पनि सस्टेन गर्न सक्छ । तर, उनीहरूलाई लाइन काटिएको थाहा छैन होला । सोलारले जबसम्म धान्छ, धान्छ । त्यसपछि थाहा पाउँछन् ।’
तर, मन्त्रालयलाई भने त्यसको असर परेन । दिनभर नियमित दिन झैँ काम भइरह्यो । मन्त्रालयमा दुई फेज र तीन फेज लाइन जडान गरिएको छ । त्यसकारण एक फेजको लाइन काटिए पनि अर्को फेजबाट आपूर्ति भएको जानकारी मन्त्रालयले दियो ।
तर, प्राधिकरणले सोलारले काम गरेको र सोलारको क्षमता सकिएपछि विद्युत् आपूर्ति ठप्प हुने जनाएको छ । मन्त्रालयको माथि सोलार प्यानल राखिएको छ । सोही प्यानलबाट सौर्य उत्पादित सौर्य ऊर्जाको आपूर्तिका कारण मन्त्रालयले नै लाइन काटिएको थाहा नपाएको हो ।
बिजुली काटिएपनि मन्त्रालयमा कहीँ समस्या नभएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जिकीर गरे । ‘म कार्यालय नपुग्दै आएर गएछन्, यहाँ सर्भिस डिस्टर्ब छैन । मन्त्रालयदेखि क्वार्टरसम्म चलिरहेको छ । हाम्रोमा दुईवटा फेज छ । तीन फेजमा गएपछि हामीले दुई फेज डिस्कनेक्ट गरेका थिएनौं, त्यसकै बाँकी रहेछ,’ उनले भने, ‘प्राधिकरणको लेखा शाखाले प्रयोग नभएको फेजमा बक्यौता देखिएको बताएको छ ।’ मन्त्रालयले मन्त्री क्वार्टर, सचिव क्वार्टर र मन्त्रालयको महसुल तिर्ने गर्छ ।
पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र पारेको छ । केही दिनअघि नै लाइन काट्ने तयारी गरिए पनि कास्की कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
केन्द्रले ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १ सय ७ ग्राहकको लाइन शनिबार काटेको थियो । १ सय ७ ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले पाँच लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुनः जोडिएको प्राधिकरणले जनाएको छ ।























