मनोरन्जन

‘परदेशी २’ हिट भएसँगै निर्देशनमा नारायण रायमाझीको ह्याट्रिक

जगत ठाडा मगर
२०८० कार्तिक १२ | मध्यान्ह १२:०७ बजे

काठमाडौँ । कुनै उपलब्धि लगातार तीन पटक हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली फिल्म क्षेत्रमा पनि यो चलनचल्तीमा रहेको शब्द हो । कुनै निर्माता, निर्देशक वा कलाकारको लगातार तीन फिल्म हिट भयो भने यो शब्दले सम्बोधन गर्ने गरिन्छ । अहिले फिल्म क्षेत्रमा निर्देशक नारायण रायमाझीले ‘ह्याट्रिक’ रेकर्ड बनाउन सफल भएका छन् ।

लोकदोहोरीको राम्रो पहिचानपछि निर्देशनमा होमिएका रायमाझीको ‘परदेशी २’ सफल भएसँगै हिट फिल्म निर्देशनमा ह्याट्रिक रेकर्ड बनेको हो । यसअघि उनी निर्देशित दुई फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएको थियो । ‘परदेशी २’ गत २६ असोजबाट देशभर प्रदर्शनमा आएको फिल्म हो । फिल्म अहिले तेस्रो सातामा प्रदर्शनरत छ ।

प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको फिल्म राजेश बंशल र निर्देशक रायमाझीको निर्माण बनेको हो । उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवाको कथामा निर्माण भएको फिल्म नारायण इन्टरनेसनलको प्रस्तुतिमा बनेको हो । रमेश बिजीको लेखनमा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी  छ ।

कमेन्टहरु