धर्म–संस्कृति/रीतिथिति, राजनीति

छैटौँ महासचिवका रूपमा लुम्बिनी आउदै गुटेर्रेस

जगत ठाडा मगर
२०८० कार्तिक १२ | बिहान ०६:०७ बजे

भैरहवा, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मङ्गलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुहुने भएको छ । लुम्बिनी विकास कोषले उहाँको स्वागतका लागि विशेष तयारी गरेको छ । गुटेर्रेस राष्ट्रसङ्घको छैटौँ महासचिवका रूपमा लुम्बिनी आउन लाग्नुभएको हो । यसअघि राष्ट्रसङ्घका पाँच जना महासचिवले लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ ।

जस अनुसार ड्याग ह्यामरसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहाइमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ नोभेम्बरमा लुम्बिनीको भ्रमण गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार तीनदिने नेपाल बसाइका क्रममा गुटेर्रेसले सोमबार लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।

उहाँका अनुसार महासचिवको स्वागतसँगै लुम्बिनीको सम्बर्धन र सहयोगका लागि अपिल गरिने छ । त्यस्तै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्नेबारे पनि छलफल हुने छ । डा. लामाले महासचिव गुटेर्रेसको भ्रमणलाई लुम्बिनीमा ऐतिहासिक बनाउने तयारी गरिएको पनि जानकारी दिनुभयो ।

उपाध्यक्ष डा. लामाले भन्नुभयो, “यो भ्रमण लुम्बिनीको विकाससँग मात्रै नभएर सिङ्गो बुद्ध, धर्म र पर्यटनसँग जोडिएको छ । ऐतिहासिक तथ्यलाई केलाउँदा बुद्ध जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकास र प्रवर्धनमा संयुक्त राष्ट्रसङ्घको संस्थागत योगदान महत्वपूर्ण रहेको छ ।” लुम्बिनीको गुरुयोजना संयुक्त राष्ट्रसङ्घकै पहलमा तयार भएको हो । तर उक्त गुरुयोजना अनुसारको काम सकिएको छैन । जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको आग्रहमा लुम्बिनी गुरुयोजना तयार गर्नुभएको हो ।

लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ । सन् १९६७ को अप्रिलमा राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गर्नुभयो । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पार्नुभएको लुम्बिनी गुरुयोजना ४५ वर्ष बितिसक्दासमेत अधुरो छ । अहिलेसम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यतिबेला केही योजनाका काम अगाडि बढेका छन् । 

विश्वका शान्तिप्रेमी मानवको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रिय स्तरमै तय गरियो । राष्ट्रसङ्घको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो । ऊ थान्तले बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनी विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसरी आफूले भ्रमण गरेको लुम्बिनी क्षेत्रको विकासका लागि आफैँले के सहयोग चाहिन्छ भनेर सोध्ने अन्तर्राष्ट्रिय जगत्को माथिल्लो ओहोदाको पहिलो व्यक्ति पनि संयुक्त राष्ट्रसङ्घको महासचिव ऊ थान्त नै हुनुहुन्छ । लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको योजनाबद्ध विकासको सुरुवात भएको हो । त्यसैकारणले अहिलेसम्म पनि संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष महत्वसाथ हेर्दै आएका छन् ।विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी आज जुन ठाउँमा छ, त्यो ठाउँमा आउने गरी विकास हुनुमा संयुक्त राष्ट्रसङ्घकै योगदान रहेको बताउनुभयो ।

कमेन्टहरु