गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति

नवलपुर गैँडाकोटको मौला कालिका भगवती मन्दिर (फोटो फिचर)

नवलपुर टुडे
२०८० कार्तिक ४ | मध्यान्ह ०१:०७ बजे

नवलपुर, कात्तिक ४ गते । नवलपुर जिल्ला अर्थात् नेपालकै प्रख्यात शक्ति प्रबल मौला कालिका मन्दिर । यो भगवतीको मन्दिर नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ अन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणी पुलबाट करिब ४ कि.मि. को दुरीमा प्राकृतिक सम्पदाले भरिपूर्ण समुन्द्र सतहदेखि १८४१ फिटको उचाइमा रहेको हरियाली पहाडको जङ्गलको गैडाकोटधुरीमा अवस्थित रहेको छ।

१५औँ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणि मुकुन्द सेनको आफ्नो शासनकालमा यस स्थलमा सैनिक राखी देवघाट धाममा चक्रवर्ती शिला स्थापना सहित तीर्थ वास गरेको र सैनिक टुकडीलाई शक्ति आराधनाको लागि मौलो गाडी पीठका रूपमा पूजा अर्चना गर्न यस स्थलमा व्यवस्था गरेका थिए। उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गरेका थिए भन्ने किम्बदन्ती रहेको छ। तत्पश्चात् स्थानीय गाउँलेहरूले पालै पालो गरी पूजा चलाएका थिए।

Maulakalika Bhagwati Temple Rajesh Dhungana 2

यस स्थलमा पहिला ठुलो सालको रुख थियो। १९९० सालको महाभूकम्पमा उक्त सालको रुख ढल्न गएर रुखसँगै जोडिएको मन्दिरमा भएका ऐतिहासिक एवं धार्मिक संरचनाहरू ध्वस्त भए। कालान्तरमा गाउँका आदिवासीहरू अन्यत्र बसाई सर्न थाले र यस भगवतीको पूजा पाठ गर्ने चलन बिस्तारै कम हुँदै गयो।

२०३२ सालमा बनाएको सानो मन्दिर पुनः भत्किए पछि २०४२ सालमा विभिन्न सङ्घ, संस्था, सुरक्षा निकाय, उद्योग व्यवसायी र स्थानीयवासीको सहयोगबाट निकै नै आकर्षक र कलात्मक प्यागोडा शैलीको मन्दिरको निर्माण भएको हो।

मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै आकर्षक मौला कालिका भगवतीको मूर्ति बिच भागमा रहेको छ भने दाहिने तर्फ कालो प्रस्तरकै विष्णु शिला, लक्ष्मी, दुर्गाको मूर्ति र बायाँतर्फ कालोप्रस्तर कै शिवलिंग, सरस्वती, शिव र गणेश भगवानको मूर्ति रहेको छ।

मन्दिरका प्रमुख पण्डित क्षेत्रप्रसाद पराजुलीका अनुसार शक्तिस्वरुपा मौला कालिका भगवतीको पूजा अर्चना आराधना एवं उपासना गर्नाले मनले चिताएको पुग्नुका साथै दुःख, आपतविपत् र सङ्कट परेको अवस्थामा भगवतीको प्रार्थना गर्नाले सहन शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको र यस मन्दिरमा दैनिक नित्य पूजा बिहान र बेलुका गरेपछि मात्र भक्तजनहरूलाई मन्दिरमा प्रवेश गराइने पण्डित पराजुली बताउनु हुन्छ । 

Maulakalika Bhagwati Temple Rajesh Dhungana 9

यस मन्दिरमा भारत, भुटान लगायत विभिन्न देश बाट समेत भक्तजनहरू श्रद्धाका साथ आउने गर्दछन्। यस मन्दिरमा पहिला १८८२ वटा उकालो सिडी चढेर जानु पर्थ्यो भने हाल मौलाकाली केबुलकारले केबुलकार सञ्चालनमा ल्याएपछि भगवती मन्दिर परिसर क्षेत्रमा सहज रूपमा  ५ देखि ७ मिनेटमा पुग्न सकिन्छ।

उच्च पहाडमा यो भगवतीको मन्दिर रहेकोले यस धार्मिक स्थलबाट उत्तर(पूर्व ईशान कोणमा शालग्रामगर्भा श्रीकृष्णगण्डकी र शिवशुलप्रसुता त्रिशूली नदीको संगमस्थल तपोभूमी देवघाट धाम, हिमशृङ्खलाहरूका साथै दक्षिण(पश्चिमतर्फ नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज, नारायणगढ, सौराहा, गैँडाकोट बजार आदीको दृश्यावलोकन बडो मनोरम देखिने गरिन्छ। साथै यो स्थल पर्यटकीय दृष्टिकोणले पनि निकै नै महत्त्वपूर्ण समेत रहेको छ।

मन्दिर व्यवस्थापनको लागि सालिकराम सापकोटाको अध्यक्षतामा धार्मिक सेवा समिति मौला कालिका मन्दिर गठन गरिएको छ।

Maulakalika Bhagwati Temple Rajesh Dhungana 7Maulakalika Bhagwati Temple Rajesh Dhungana 5Maulakalika Bhagwati Temple Rajesh Dhungana 4Maulakalika Bhagwati Temple Rajesh Dhungana 1

 

कमेन्टहरु