गण्डकी प्रदेश, विचार/ब्लग

निलो आकाश मुनि “निलगिरी” हिमाल

नवलपुर टुडे
२०८० कार्तिक ३ | मध्यान्ह ०४:०७ बजे

मुस्ताङ जिल्ला पर्यटकीय हिसाबले जति महत्वपूर्ण छ, त्यति नै सांस्कृतिक, भौगिलोक, जैबिक हिसाबले पनि आकर्षणको केन्द्र

मुस्ताङ, कार्तिक ३ ।

दक्षिण एशियाको भुपरिबेष्ठित देश नेपाल बिबिध किसिमको सांस्कृतिक, सामाजिक, भौगोलिक, भाषिक र जातीय बिबिधता मिलेर रहेको छ । एकै खालको रहनसहन, धार्मिक आस्था र जातीय बसोबासको आधार भेट्टाउन यहाँ गार्‍हो पर्दछ । नेपालको भौगोलिक बिभाजनको आधार हेर्दा यसको संरचना छिमेकी मुलुक चिनसंग सीमाना जोडिएको हिमाल, मध्ये भू-भाग पहाड र दक्षिणी सीमाना छिमेकी मुलुक भारतसंग जोडिएर तराई रहेको छ । उत्तरमा हिमाल, बीचमा पहाड र तराईमा समथर जमीनले मिलेर बनेको कारणले गर्दा नै यसलाई भौगोलिक बिबिधतायुक्त मुलुक भनिएको हो । बसोबासको आधार पनि यहि बिबिधता अनुसार अलग अलग छ । तराईमा मधेशी समुदायका मानिसहरुको बसोबास बढिरहेको छ, भने हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरुको रहनसहन र सांस्कृतिक परम्परा तराईको भन्दा अलग छ ।

नेपालको बनोटको आधारमा बिश्लेषण गर्दा दक्षिणी भूभाग भारत संग सीमाना जोडिएर रहेको तराईको समथर जमिनी बनावट रहेको छ भने उत्तर श्रृंखला हिमालय पर्वत श्रृंखलाले सीमांकन गरेको छ जुन छिमेकी मुलुक चीन संग सीमाना जोडिएको छ । त्यसमा पनि पुर्वमा मेचीदेखि पश्चिममा दार्चुलासम्मको उत्तरी भूभागको सीमाना चीन संग कठिन भौगोलिक हिमाली धरातलले बनेको छ ।जसमा साना हिम श्रृंखलादेखि कोशी प्रदेश (सगरमाथा अञ्चल) को सोलखुम्बु जिल्लामा पर्ने बिश्वको सर्वोच्च शिखरको रुपमा रहेको ८,८४८ मिटर अग्लो सगरमाथा हिमाल पनि उत्तरी श्रृंखलामा नै पर्दछ । यसै जिल्लामा आठ हजार मिटर माथिका कञ्चनजङघा लगायतका अन्य हिमालहरु पनि पर्दछन्, जुन नेपालको पर्यटनको बलियो आधारको रुपमा रहेका छन् ।

गण्डकी प्रदेश (धौलागिरी अञ्चल) मा रहेका जिल्लाहरु पर्बत, बाग्लुङ, मुस्ताङ र म्याग्दी मध्ये मुस्ताङ जिल्ला सबैभन्दा उत्तरमा पर्ने उच्च हिमाली जिल्ला हो । हिमाल पारीको जिल्लाको नामबाट चिनिने र नेपालमा सबैभन्दा कम पानी पर्ने जिल्लाको रुपमा परिचित यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ । सायद पानी कम पर्ने र प्रयाप्त बन जङगल नभएको कारणले गर्दा पनि यस जिल्लालाई मरुभूमीको जिल्ला भनिएको होला । यस जिल्लाको ऐतिहासिक आधार र भौगोलिक अबस्था आदि हेर्दा धरै अघि यो क्षेत्र नेपाल र तिब्बत वीचको मुख्य व्यापारिक नाका रहेको बुझिन्छ ।

मुस्ताङ जिल्लाको उत्तरी सीमाना मित्र राष्ट्र चीन संग जोडिएको लोमान्थानसम्म उच्च पहाडी र हिमाली श्रृंखला मिलेर बनेको छ । ​कतिपयलाई लाग्न सक्छ की नेपालको उत्तरी सीमाना भनेको नै अग्लो पहाडी बनोटमा सेतो हिमालले घेरिएर बनेको हिमाली श्रृंखला हो भन्ने । गण्डकी प्रदेश (गण्डकी अञ्चल) मा पर्ने मनाङ र मुस्ताङ जिल्ला बाहेकको हकमा त यो ठ्याक्कै मिल्न जान्छ । तर यी दुई जिल्लाहरुमा पुग्न सेतै देखिने हिमाली रेखाहरुको खोंच पार गरेर पुग्नु पर्दछ । जाडो याममा फुलचोकी र चन्द्रागिरी लगायतका अग्ला डांडाहरुमा बेलाबखत पर्ने हिंउमा रमाउन काठमाण्डौ लगायतका शहरहरुमा बसोबास गर्ने मानिसहरुको लगभग घुंँइचो नै लाग्ने गर्दछ ।

तर, नेपालको दोश्रो ठूलो शहर पोखराबाट नजिकमा रहेका बिबिध प्राकृतिक बनावट तथा उच्च हिमाली श्रृंखलाले भरिपुर्ण मनाङ र मुस्ताङ जिल्ला भ्रमण गर्ने स्वदेशी आन्तरिक पर्यटकको आंकडालाई हेर्ने हो भने यति धेरै हिउंँ नै हिउँले बनेको हिमाली श्रंखलालाई नजिकबाट हेर्ने रहर हामीमा नपलाएको देख्दा कहिले काँही मन कुँडिएर आउँछ । त्यसमा पनि मुस्ताङ जिल्ला त अन्य बिबिध कारणले पनि प्रसिद्ध छ । बौद्ध र हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा रहेको मुक्तिनाथ मन्दिर, प्रसिद्ध स्थल दामोदर कुण्ड तथा शालिग्रामको लागि प्रख्यात काली गण्डकीको महिमाको कारण पनि मुस्ताङ जिल्लाको तुलना अन्य जिल्लाहरु संग हुनै सक्दैन् ।

इच्छा शक्ति र मन भएमा नेपालमा पुग्नु पर्ने धेरै स्थानहरु छन् । घुम्नु पर्ने धेरै मनमोहक ठाउँहरु छन् । ब्यस्त शहरको कोलाहल बीच पनि यदाकदा देखिने दृश्यहरुमा रमाएर हामी मोबाइलको क्यामेरामा आफुलाई कैद गरेर टिकटक र फेसबुकमा ब्यस्त बनाउने गर्दछौं । मानौ कि यो भन्दा शुन्दर दृश्य नेपालमा कतै पनि छैन् । हामी मध्ये धेरैलाई नेपाली भूगोल र यसको प्राकृतिक शौन्दर्यताको बारेमा किताबी ज्ञान बाहेक सबै थाहा नहुन सक्छ । तबै पनि आफ्नो भावि पुस्ताको लागि यसरी मरिमेटेर लागेका हुन्छौं की मानौं हामीलाई फुर्सद नै छैन् । नेपाली भूगोलको प्राकृतिक शौन्दर्यतालाई हामीले नजरअन्दाज गर्नु युक्तिसंगत हुन्छ जस्तो लाग्दैन् ।

हामी मध्ये नेपालको दोश्रो ठूलो शहर पोखराको बारेमा जानकार नहुने त सायदै नहोला । भुटेका मकैका सेता फूला जस्तो हिमाली श्रृंखलाको खोंचबाट बगेर आउने बिभिन्न नदी तथा खोलाहरुबाट बनेका फेवा, रुपा तथा बेगनास तालहरु पोखराका गहना नै हुन भन्दा पनि फरक नपर्ला । शिर माथि रहेको अन्नपुर्ण र माछापुछ्रे हिमाल त झन भर्खर बिवाह गरी ल्याएकी बेहुलीले टाउकोमा लगाएको सुनको चन्द्रमा भन्दा कम्ति शुन्दर देखिन्न ।अन्नपूर्ण र माछापुछ्रे हिमालको शौन्दर्यता पोखराबाट हेर्दा जति मनमोहक देखिन्छ त्यसलाई नै माथ गर्ने गरी मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट देखिने निलगिरी हिमालको शौन्दर्यता देख्न सकिन्छ ।

पोखराबाट जोमसोमको लागि हुने हवाई यात्रा अन्य जिल्लाहरुको जस्तो सहज भने छैन् । हिमालको खोंच भएर यात्रा गर्नु पर्ने भएको र जोमसोममा दिउँसो बेगसहित हावा चल्ने हुंँदा जतिखेर पनि जहाजले उडान गर्न सक्दैन् । हाल तारा र समिट एयरले बिहानको समयमा नियमित उडान गर्ने गरेका छन् । यहांँनेर एउटा गीत सम्झना आउंँछ, “जोमसोमै बजार, बाह्र बजे हावा सरर” सायद प्राकृतिकता संग साक्षात्कार भएर नै होला यस गीतको रचना भएको । पर्यटकीय शहर पोखराको पुरानो बिमानस्थलबाट हवाइजहाज चढेर जम्माजम्मी २० मिनेटको हवाई यात्रमा मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम पुग्न सकिन्छ । सदरमुकाम जोमसोम घरापझोङ गाउंँपालिकामा पर्दछ ।

नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कालिगण्डकी करिडोर पर्वत म्याग्दी हुंदै मुस्ताङको लोमान्थाङ गाउंँपालिकाको नेपाल चीन सीमाना नाका कोरोलासम्म पुग्दछ, जुन सदरमुकाम जोमसोम हुंदै अगाडि बढ्दछ । सडक यातायातको पनि सर्वसुलभ उपलब्धता रहेको कारण त्यहांँ पुग्न पोखरादेखि बस तथा जीपमा सवार भई बिहान पोखराबाट यात्रा थालेमा करिब साढे छ घण्टामा कास्की जिल्लाको पर्यटकीय तथा रमणिय स्थल लुम्ले, पर्वत जिल्लामा रहेका बिबिध प्राकृतिक मनोरमा दृश्यहरु र म्याग्दी जिल्लामा रहेको तातोपानी र लेतेबाट देखिने धवलागिरी हिमाल र माना पाथी हिमालको पुर्वी मोहडाको मनमोहकताको असिम आनन्द लिंदै काली गण्डकी किनारै किनार करिब १५९ किलोमिटर ठाउंँठाउंँमा पक्की र कच्ची सडकको यात्रा पार गर्दा मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा गोधुली सांँझ अगावै पाइला टेक्न सकिन्छ ।

सदरमुकाम जोमसोमबाट पुर्व दक्षिणमा आंँखा पर्नासाथ शीरमा लगाएको भादगाउले टोपी जस्तो चिटिक्क मिलेर सेतै हिउंँले ढाँकिएर भर्खर बिवाह गरेर दुलही घरमा भित्र्याउंँदा मुस्कुराइरहेको बेहुलो जस्तो ६९४० मिटर उचाईको निलगिरी हिमाल देख्न सकिन्छ । अझ निलगिरी हिमालको ठ्याक्कै माथि जस्तो देखिने सफा निलो आकाश र यस हिमालको दृश्यले प्रभावित नहुने सायदै कोही नहोला । सदरमुकाममा जो कोहीले पनि पाइला टेक्ने बित्तिकै घांँटीमा भिरेको क्यामेरा होस वा खल्तीमा रहेको मोबाइल होस पहिलो क्लिक जोमसोमको पुर्वमा सेतै मिलेका दांँत देखाएर मुसुमुसु हांँसेकी शुन्दरी जस्तै अटल अबस्थामा रहेको निलगिरीकै हुने गर्दछ । त्यसमा पनि सदरमुकाम जोमसोमबाट करिब ५ किमि सडकमार्ग र दुई घण्टा पैदल मार्गबाट पुग्न सकिने याराजुङ डांँडामा पुगेर हेर्दा निलगिरी हिमालको शौन्दर्यता सायदै मनबाट हराउला ?

निलगिरी हिमालको नजिकको गाउँ घरापजोङ गाउँपालिकाको ठिनी र धुम्बा गाउँ हो । धुम्बा र ठिनी गाउँको बीच हुँदै निलगिरी हिमाल नै मुख्य श्रोत भएर ठाडो ठिनी खोला बग्दछ, जुन जोमसोम छेउमा काली गण्डकी नदीमा आएर मिसिन्छ । पहिला तल ठिनी सम्मै हिउँले ढाँकिएको हुन्थ्यो । अहिले हिमालकै फेदीसम्म हरियालीले ढाँकेको छ । यसको पश्चिम तर्फ थासाङ गाउंँपालिका वार्ड नं ४ ताक्लाङ झिप्रा देउराली पर्दछ भने त्यही गाउंँ छेउमा घाना खोला बग्दै बग्दै कालीगण्डकीमा नै गएर मिसिन्छ । यस हिमालको दक्षिण पश्चिम तर्फ भने म्याग्दी जिल्ला पर्दछ । हिमालको चुचुरोले जिल्लाको सीमाना छुट्याएको छ । बिहान झुल्किने घामको पहिलो किरण म्याग्दीको चुचुरो तर्फ पर्दछ, हिमाल तलको गाउँ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नाख्याङको बास्कोट गाउँ पर्दछ । जुन गाउँ भएर निलगिरी हिमालकै नामबाट बनेको निलगिरी खोला बग्दछ । हिमालको खोंच भएर बग्ने खोलाहरुको पानी अत्यन्त कञ्चन र सफा देखिन्छ, तर कालीगण्डकीमा मिसिने बित्तिकै त्यसको रंग परिवर्तन हुन्छ ।

निलगिरी हिमालको भौगोलिक बनावट अत्यन्त कठिन छ । अत्यन्त ठाडो र उच्च शिखर भएको कारणले नै यस हिमालमा पनि माछापुछ्रे जस्तै आरोहण अनुमति नेपाल सरकारले कसैलाई पनि दिएको छैन् । यसै कारणले गर्दा पनि होला यस हिमालको तल फेदिसम्म पनि अरु हिमालको हिउंँ पग्लिसक्दासम्म पनि सेतै हिउँले ढाँकिएर रहेको हुन्छ । पहिले पहिले जोमसोम नजिक रहेको ठिनी गाउँ र धुम्बा गाउँसम्म पनि सेतै हिउँले ढाँकिन्थ्यो भने जलवायु परिवर्तनको असरले यो हिमाल पनि अछुतो रहन सकेको छैन । जोमसोमको शिरमा निलगिरी हिमाल रहेको भए तापनि गर्मी याममा जोमसोममा सवारी साधनमा यात्रा गर्दा एसी चलाउनु पर्ने अबस्था छ ।

सदमुकाम जोमसोम देखि ३ किमि टाढा निलगिरी हिमालको तल फेदीमा प्रसिद्ध धुम्बा ताल छ । तालमा रहेको पानी यति निलो देखिन्छ कि मानौ हिमालको मात्र नभै तालको नाम पनि निलगिरीकै नामबाट निलगिरी ताल पो हुनु पर्थ्यो की ? ताल छेउमा पुग्दा बेलुकी पख निलगिरीको छाया देख्न सकिन्छ । तालको कञ्चन र सफा पानी, त्यसमा पनि बिभिन्न प्रजातिका माछाहरु देख्दा जो कोहीको मन पनि रमाउने गर्दछ । जोमसोम आउने स्वदेशी तथा बिदेशी पर्यटक एकपटक पुग्नै पर्ने ठाउंँ हो धुम्बा ताल । माथि शिरमा निलगिरी हिमाल तल फेदीमा चर्को स्वरमा सुसाएर बग्ने कालीगण्डकी, मानौ जोमसोमको शौन्दर्यताको मध्यस्थकर्ताको जिम्मा धुम्बा तालले लिएको छ ।

यसको अलावा मुस्ताङ जिल्ला पर्यटकीय हिसाबले जति महत्वपूर्ण छ, त्यति नै सांस्कृतिक, भौगिलोक, जैबिक हिसाबले पनि आकर्षणको केन्द्र रहेको छ । यस जिल्लामा रहेका लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ मन्दिर क्षेत्र,टुकुचे, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल, टुकुचे मार्चे लेक ,टुकुचे बतासे लेक, टुकुचे नाथांग खर्क’ आदि प्रसिद्ध पर्यटकीय स्थलहरु हुन् । बिबिध जैबिक बिबिधता तथा जडिबुटीको आधार क्षेत्र रहेको कारणले गर्दा पनि यस जिल्लाको महत्व अन्य जिल्लाहरुको तुलनामा बढि नै छ ।

पितृहरुको सम्झना र दिवंगत आत्माको पुन्य तिथि तथा सोह्र सराद्धमा कागबेनीमा सराद्ध गर्न र तर्पन दिन हिन्दू धर्मावलम्बीहरुको असिमित घुँइचो नै लाग्ने गर्दछ । त्यसकारण पनि मुख्य सिजनमा मुस्ताङ जिल्लामा भ्रमणको लागि नेपालको बिभिन्न स्थानहरु र बिदेशी पर्यटकको घुँइचोले गर्दा यदाकदा ट्राफिक ब्यबस्थापन र शान्ति सुरक्षा कार्यसमेत चुनौतिपूर्ण बन्ने गर्दछ ।

लेखक: भोजराज पाण्डेय
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख (डीएसपी) हुनुहुन्छ ।

कमेन्टहरु