गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति
कोटैकोटको जिल्लामा चिनिने स्याङ्जा जिल्लाको प्रसिद्ध शक्ति पीठमा पुरानो कोटै कोट मध्येको सतौकोट


स्याङ्जा, कार्तिक ३ गते । कोटैकोटको जिल्लामा चिनिने स्याङ्जा जिल्लाको प्रसिद्ध तथा सबै भन्दा पुरानो कोट मध्येको एक कोट सतौँ (चण्डी स्थान) कोट हो । स्याङ्जामा आलमदेवी, गहौकोट जस्ता शक्ति पीठ रहेको पनि सतौकोट सबैभन्दा पुरानो हो । पुतली बजार नगरपालिका नगरपालिका १४ मा रहेको सतौ कोट विस ८६५ मा निर्मित मन्दिरलाई १७७० मा राजा दीर्घ राज शाहीले पुनर्निर्माण गरी ढुङ्गाले छाउने काम गर्नु भएको थियो ।
शिरबम शाही र दीर्घवम शाही सम्म आइपुग्दा चामु शाही, तुला शाही, बहादुर शाही, छत्र शाही, पृथ्वी पति शाही, दावनल शाहीहरूले राज्य गरेको इतिहास रहेको छ । सतौँका पहिलो राजा वडाबम राव र दोस्रो मिचा खान रहेका थिए । बाइसे चौबीसे राज्यका राजाले आ–आफ्ना राज्यमा सुख र समृद्धिका लागि देवी देवताको आराधना गर्ने प्रचलन अनुरूप सतौँकोटे राजाहरूले मन्दिर स्थापना गरी सतौँ चण्डी नामकरण गरिएको हो ।सतौका राजाको दरबार भनिने यस मन्दिरमा कालिका र भैरवको पूजा गरिन्छ भने अहिले पनि यसलाई दरबार नै भनिन्छ ।
मन्दिर दर्शनका लागि दैनिक दुई तीन सय मानिस सताैँ चण्डी आउने र दसैँ जस्ता विशेष चाडपर्वमा पाचँ सय हजारकै सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । बडा दशै नजिकै आएसँगै यहाँ भक्तजनको भिड लागेको छ । पाल्पा भगवती, बागलुङ कालिका, गोरखा मनकामना र सतौ कोट (चण्डी स्थान)को पूजा गर्ने विधि र पुजारी पनि एउटै जातको भएकाले एकै किसिमको शक्ति पीठ भएको अनुमान गर्न सकिन्छ । यहाँ रहेको सतौकोटको (चण्डी स्थान) को मन्दिर विसं २०४५ मा पुनर्निर्माण गरिएको हो । यहाँ मन्दिरको आसपासमा सतौँ चण्डी स्थान, सतौँकोट, पशुपतिनाथ मन्दिर रहेका छन् । यस मन्दिरमा पूजा वा दर्शनका लागि कास्की, पाल्पा, तनहुँ, पर्वत, बागलुङ, रुपन्देही, काठमाडौँलगायत टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् ।
महाशिवरात्रि, बाला चतुर्दशी, दसैँ, चैतेदसैँ आदिमा यहाँ मेला लाग्ने गर्दछ । यहाँ पञ्च बली (राँगा, हाँस, पाठा, भाले, परेवा, सुँगुर) दिने चलन छ । यहाँ गहौसुर, रुपाकोट, बहा कोट, खिलुङकोट, नुवाकोट लगाएका दर्जन भन्दा धेरै शक्ति पीठ रहेका छन् ।























