नेपालकै प्रथम शहिद लखन थापाको नामबाट गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला अलपत्रमा


गुल्मी, कार्तिक १ । नेपालकै प्रथम शहिद लखन थापाको नामबाट गुल्मीको इश्मा गाउँपालिका – ६ अंमरपूर बुल्मचौरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माणको कार्य रोकिएको छ । रङ्गशाला निर्माणको काम मात्र रोकिएको छैन निर्माण गरिएका संरचना भत्किन थालेका छन् ।
बडा दशैँमा घर रङ्ग रोगनको लागि प्रयोग हुने बुल्मचौरको रातोमाटो गुल्मीसँगै आसपासका जिल्लामा प्रसिद्ध छ । यहाँको रातोमाटो पाल्पा, बुटवल, प्युठान, बाग्लुङ्ग, अर्घाखाचीँ, स्याङ्जा लगायतका जिल्लामा पुग्ने गर्दछ । बडा दशैँको द्वादशीको दिन भब्य सराय नाचँ हुने बुल्मचौर खेलकुद क्षेत्रमा सम्भावना देखेर निर्माण गर्न थालिएको फुटवबल रङ्गशाला निर्माणको काम बिचैमा रोकिदाँ संरचना जीर्ण बन्न थालेका छन् ।
कुमाल समुदाय गाउँको बीचमा रहेको यो चौरलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गरी खेल क्षेत्रको विकाससँगै यहाँ हुने चहलपहलबाट स्थानीयले फाइदा लिन सक्नेगरी योजनाका संकल्पकार हुन् पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद गोकर्ण विष्ट ।
उनको योजनामा वि.स २०७४ सालमा सहिद लखन थापाको नाममा जिल्लाकै पहिलो अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको प्रक्रिया अघि बढेको थियो । सांसद बिष्टले बहुबर्षीय योजना भएकोले रकम अभाव नहुने र काम नियमित हुने बताएका थिए । उनले यो प्रदेशकै गौरवको योजना भएकाले आफूले काम र बजेटको बिषयमा चासो दिइरहेको जानकारी दिएता पनि अहिले कसैको ध्यान यो खेल मैदानतर्फ गएको देखिदैन ।
राष्ट्रिय खेलकुद परिषदले २ करोड ८० लाख रुपियाँमा माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि सहयोग गरेको थियो । २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौसँग सम्झौता भए पनि कामले निरन्तरता पाउन सकेन । एक वर्षसम्म काम भए पनि सो पछि रकम अभाव भन्दै कामले गति लिन सकेन । माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्य सम्पन्न भएपनि अहिले उक्त स्थान गाडी चलाउन सिक्ने ठाउँको रूपमा समेत परिणत हुन थालेको छ ।
रङ्गशाला नामाकरण दिइएको उक्त स्थानमा अहिले खाल्डाहरू परेका छन् र पर्खाल पनि भत्किँदै गएको छ भने रोपिएको दुबोको पनि नाम निसाना नभई झार पलाएको छ । निर्माण हुन लागेको रङ्गशालामा १५ हजार दर्शक अटाउने बताईएको थियो । निर्माणधिन रङ्गशाला १०५ मिटर लम्बाई तथा ६८ मिटर चौडाईको छ ।
गुल्मीको मालिका गाउँपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकालाई केन्द्र पर्ने गरी बुल्मचौरमा फुटबल रङ्गशाला निर्माण गर्न थालिएको थियो । यो खेलमैदानमा स्थानीय सरकार, केन्द्रीय सरकार वा प्रदेश सरकारको समयमै ध्यानाकर्षण हुन जरुरी छ ।























