पीआरसी संस्थाद्वारा वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न


कपिलवस्तु, असोज ३० । शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगरको निलकण्ठ होटलमा एक कार्यक्रमकाबीच वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता र शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै अतिथिहरुमा कृष्णनगर नगरपालिकाकी उपमेयर आरती देवी चौधरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरनमान बज्राचार्य, इप्रका कृष्णनगरका प्रहरी निरिक्षक लम्मण ओलु, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापा मगर, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता, प्रकाश मरासिनी, जय प्रकाश पाण्डेय, बिष्णु प्रसाद खतिवडा, लेखनाथ घर्ती, कमल जिसी,शुशीला बेल्वासे, वडाध्यक्ष कृष्ण कुमार गुप्ता लगायत अन्य रहेका थिए ।
शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले कार्यक्रममा शुभकामना मन्तव्य राखे । कार्यक्रममा खुल्ला सत्रमा उपस्थितहरूले आ आफ्नो विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले मानव बेचविखनको विरूद्ध सबै क्षेत्रका व्यक्ति लागे मात्र मानव बेचबिखन रोकिने बताए ।
यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शिव कुमारीले
क्षेत्र नं ३ का पालिकाहरू मिलेर मानव बेचविखनमा परेकालाई पुनर्स्थापना केन्द्र खोज्नुपर्ने बताइन् । प्रहरी निरिक्षक लक्ष्मण ओलीले कार्यक्रम सफलताको शुभकामना दिँदै शान्ति पुनर्स्थापना गृह (PRC) ले राम्रो काम गर्दै आएको र मानव बेचविखन बिरूद्ध आफूहरूबाट हुने हरेक सहयोग गर्न तयार रहेको बताए ।
मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमानाबाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठाँउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसीले बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा जानकारी दिए ।
आज सामाजिक लेखा परीक्षण कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुँदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंङ विजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रीय संयोजक निर्मल सुबेदीले दिए ।
शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ । तथा नेपालका ७६ जिल्लाबाट आएका व्यक्तिहरुलाई परामर्श दिएको छ ।
शान्ति पुनर्स्थापना गृह (PRC) ले ३५६ जनालाई उद्धार गरिएको जसमा ५४ जना कपिलवस्तु जिल्लाका, ५२ जना अर्घाखाँचीका, ३६ जना प्यूठानका, ३५ जना दाङका, ३० जना रूपन्देहीका, २६ जना गुल्मीका, २१ जना रोल्पाका तथा २५ जना भारतको विभिन्न ठाँउबाट उद्धार गरिएको थियो ।
२५ जनामध्ये १६ जना भारतको बस्तीबाट बालकहरू रहेको, ६ जना बालकहरूलाई भारतको लखनऊबाट, १ जनालाई भारतको गुजरात तथा १ जना सिमलाको मंशूरीबाट र १ जना महिलालाई भारतको गोरखपुरबाट उद्धार गरिएको जानकारी कार्यक्रममा गराइएको थियो ।
साथै ३ जनालाई शान्ति पुनर्स्थापना गृह (PRC) को केन्द्रीय कार्यालयमा पुनर्स्थापनाका लागि पठाएको तथा २ जनालाई अन्य संस्थामा पुनर्स्थापनाका लागि पठाइएको जानकारी गराइएको थियो ।
शान्ति पुनर्स्थापना गृह (PRC) संस्था कपिलवस्तुमा मानव बेचविखन विरूद्ध राम्रो काम गर्दै आएको तथा बेचविखनमा पर्न सक्ने सूचना पाउनासाथ भारतको विभिन्न ठाँउमा पुगेर सरोकारवालासँग समन्वय गरी उद्धार गर्ने गरेको स्थानीय समाजसेवीहरूले बताए ।























