केएमसी अस्पतालमा डाक्टर कुटिए, दुई जना पक्राउ


काठमाडौं, असोज १४ । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन् । उनीहरू ओपिडीमा आएका थिए । तर डा. मनिष खड्काले लाइनमा बस्न भनेपछि कुटपिट गरेको प्रहरीको भनाइ छ । कुटपिट गरेको भन्दै चिकित्सकहरू आन्दोलित छन् । उनीहरूले अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन् ।
यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए । त्यसको विरोधमा आन्दोलित नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग सरकारले कार्यस्थलको सुरक्षाका लागि सहमति गरेका थिए ।






















