रोजगार

नवलपरासीको बर्दघाटमा “बलियो महिला तालिम” संचालन

नवलपुर टुडे
२०८० अशोज ८ | मध्यान्ह ०३:०६ बजे

नवलपरासी, असोज ८ । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ७ मा “बलियो महिला तालिम” कार्यक्रमको उद्घाटन भएको छ । महिलाहरुलाई जिविकोपार्जनतर्फ उन्नमुख गर्ने मुल उद्देश्यकासाथ चौधरी फाउन्डेसनको आयोजनामा तालिम आज असोज ८ गतेदेखि १२ गतेसम्म संचालन हुनेछ ।

चौधरी फाउन्डेशनका प्रोजेक्ट मनेजर विकास देउजाको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथिमा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठ, अतिथिमा वडा नं ७ का वडा अध्यक्ष धुर्ब थारु लगायत सहभागी रहेका थिए । उनीहरूले तालिममा सहभागी महिलाहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

तालिममा २६ जना महिलाहरु सहभागी भएका छन् । उनीहरुलाई केराको चिप्स, कोदोको केक, कोदोको हलुवा, मस्यौरा, बाल आहार, कोकिज लगायतका खानेकुराहरु बनाउने तालिम दिइनेछ ।

स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाने कुराहरुलाई उपभोग गर्दै महिलाहरुको जीवन स्तर सुधार्न खाद्य उद्यमशीलता सम्बन्धी सीप विकास गर्ने, उक्त खाद्य पदार्थहरुको बजारीकरण तथा वितरण गर्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिए ।

कमेन्टहरु