समाचार

खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

नवलपुर टुडे
२०८० अशोज ७ | मध्यान्ह १२:०६ बजे

धनुषा, असोज ७ । धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका-१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको हो ।

प्रहरीका अनुसार धिरजकुमार शनिबार दिउँसो साथीहरूसँगै बिगही खोलामा खेल्न गएका थिए । नुहाउने जाने क्रममा चिप्लेर उनी गहिरो खाल्डोमा खसेको परिवार स्रोतले जनाएको छ । धिरजकुमारसँगै अन्य दुई जना बालक पनि खोलामा गएका थिए । धिरजकुमार डुबेपछि अन्य दुई साथीले स्थानीयलाई बोलाएका थिए । 

खाल्डोबाट उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्टहरु