१४९ सांसदको हस्ताक्षरसहित बिपक्षी गठबन्धन सर्बोच्च अदालत जाँदै, डा : भिम रावल र रमेश लेखकले पनि बहस गर्ने


काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदर गर्ने माग गर्दै १४९ जना सांसदको हस्ताक्षरसहित रिट निवेदन लिएर आज अदालत जाने भएको छ ।
बहुमत हुँदाहुँदै कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जान लागेका हुन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेका हुनाले विपक्षी गठबन्धनले राजनीति तथा कानुनी लडाइँ लड्ने निर्णय गरेसँग आज अदालत जान लागिएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सांसद सहित अदालत पुग्नेछन् ।
विपक्षी गठबन्धनले रिटको मस्यौदा तयार पारिसकेका छन् । सिंहदरबार कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरूलाई अहिले विहान ११ बजे बोलाइएको छ । त्यहाँ रीटको ड्राफ्टमा हस्ताक्षर गरेर सर्वोच्च जाने तयारी विपक्षी गठबन्धनको तयारी छ ।
बिपक्षी गठबन्धनको अदालतमा रिट निवेदकको तर्फबाट एमाले नेता डा : भीम रावल र कांग्रेस नेता रमेश लेखकले समेत बहस गर्ने भएका छन् ।























