दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या, दुई जना गम्भीर घाइते


बुटवल, असोज ६ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।
दिउँसो साढे २ बजेतिर तुलसीपुर–११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षीया रिता लामिछानेलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै खुकुरी प्रहारबाट अन्य दुई जना पनि गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल रहेका छन् । वीरबहादुरको दाहिने हातमा चोट लागेको छ । दुवै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित प्रहरीले पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















