नवलपरासीबाट ४६ लाख ५० हजार मूल्य बराबरको अवैध मालसामान बरामद


नवलपरासी, असोज ६ । नवलपरासीको सरावल गाउँपालिका – ६ गुजरवाटोलबाट प्रहरीले ४६ लाख ५० हजार ६ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राती साढे ११ बजे उक्त अवैध मालसामान बरामद गरेको हो ।
भुजहवाबाट परासीतर्फ आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा उक्त कन्टेनर भित्र भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मूल्य बराबरको जुत्ता, चप्पल, ताला/चाबी, कालो पेन, फुल स्प्रे, पेन्टिङ ब्रस, एअरबड, पेन्सिल, इरेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक बोहराका अनुसार प्रहरीले कन्टेनर र कन्टेनर चालक नवलपरासी सरावल गाउँपालिका – ५ धनगढवा बस्ने बशिष्ट थारुलाई समेत नियन्त्रणमा लिइएको छ । उक्त कन्टेनरको मूल्य अन्दाजी १९ लाख बराबरको रहेको छ ।
बरामद सामान, कन्टेनर र चालकलाई आवश्यक कारबाहीको लागि आज शनिबार भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।






















