समाचार

मुगुको गमगढी बजारमा आगलागी, ६ घर जलेर नष्ट

नवलपुर टुडे
२०८० अशोज ६ | बिहान ०७:०६ बजे
तस्बिर : रासस

काठमाडौं, असोज ६ । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।

आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका – १ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापा जानकारी दिए । आगलागीबाट आसपासमा रहेका अन्य घरमा समेत क्षति पुगेकाे छ ।

आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको डिएसपी थापाले बताए । उनका अनुसार आगलागीबाट वडाध्यक्ष पिआर मल्लको घरसहित पुतली शाही, प्रदीप रावल, सन्त सिलवाल, सान्त्वना खत्री, जंग शाही र सोनाम लामाको घर पूर्ण रूपमा क्षति भएको छ ।

करिब ११० सुरक्षाकर्मी परिचालन गरी बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रमा दमकल नभएका कारण आगो निभाउन खानेपानीको पाइपबाट पानी हालेर आगो नियन्त्रणमा लिइएको थियो । खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको डिएसपी थापाले जानकारी दिए ।

कमेन्टहरु