समाचार

रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते

असिम कामु
२०८० अशोज २ | बिहान १०:०६ बजे

बुटवल, असोज २ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केरवानीमा दुई मजदुर समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । उक्त झडपमा अन्य ३ जना मजदुर घाइते भएका छन् ।

गएराति मादक पदार्थ सेवन गरी एक आपसमा कुटाकुट हुँदा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

यस्तै घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारको लागि भैरहवा  लगिएको छ ।

झडपमा संलग्न १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । उनीहरूबीच मकवानपुरे र नुवाकोटे समूहका नाममा धारिलो हतियारसहित झडप भएको स्थानीय बताएका छन् । तर प्रहरीले भने यसबारे केही उल्लेख गरेको छैन ।

कमेन्टहरु