चिकित्सक संघको आन्दोलन स्थगित, सहमति पालना नभए पुनः आन्दोलनमा उत्रने चेतावनी


काठमाडौँ, भदौ ३१ । नेपाल चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । सरकारद्वारा गठित वार्ता समितिसँग सम्झौता भएसँगै हाललाई आजैको मितिदेखि लागू हुने गरी आन्दोलन स्थगित गरिएको हो ।
गत भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर एवम् संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि साङ्घातिक आक्रमण भएपछि संघ ७ बुँदे माग राखेर देशभर आन्दोलनमा उत्रिएको थियो ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र संघका पदाधिकारीबीच सम्झौता भएको छ । सम्झौता अनुसार घटनामा संलग्न दोषीहरूलाई गृह मन्त्रालयमार्फत तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने तथा उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने बताइएको छ ।
चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणका कारण बाध्यतावश संघको आह्वानमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवाहरू बन्द गर्नु परेकोमा संघले दुःख व्यक्त गरेको छ । ‘सरकारले चिकित्सकको जीउ ज्यानको सुरक्षा गर्न नसक्दा आपराधिक मानसिकताका केही गलत प्रवृत्तिका व्यक्तिका कारणले यो अप्रिय अवस्था सिर्जना भएको हो,‘ संघले भनेको छ ।
साथै सुरक्षाको जिम्मा लिएको सरकारले संघसँग गरिएका सम्झौता अक्षरशः पालना नगरेको अवस्थामा जुनसुकै समयमा पुनः कडा भन्दा कडा कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने चिकित्सक संघले चेतावनीसमेत दिएको छ ।























