स्वास्थ्य

चिकित्सक संघले देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने

नवलपुर टुडे
२०८० भदौ ३१ | बिहान ०७:०५ बजे

काठमाडौं, भदौ ३१ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको छ । संघले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका हुन् । 

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि कुटपिट गरिएको विरोधमा संघले आज सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणा गरेको हो । 

यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।

आक्रमण गर्नेहरूलाई कारबाहीका साथै देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत संघको माग छ ।

कमेन्टहरु