संखुवासभा कैदी मृत्यु प्रकरण : ७ प्रहरीसहित १५ जना कारागार चलान


संखुवासभा, भदौ २८ । संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालत संखुवासभाले सो प्रकरणमा मुद्दा चलाइएका ७ प्रहरी र ८ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो ।
न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले ७ प्रहरीलाई धनकुटा र ८ कैदीलाई तेह्रथुम कारागारमा राख्न आदेश दिएको छ । उनीहरुलाई कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइसकेको छ । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए ।
हत्यामा संलग्न रहेका कारागारमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, दमनसिंह राई, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान मनीष राई, पवनकुमार महतो र नुसन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।
त्यस्तै कैदीहरु बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका रामबहादुर कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारू मगर, इन्द्रध्वज घिमिरे, मीनबहादुर तामाङ र डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका टीकाराज चौहान, कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका नवीनकुमार राईलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्तोष भण्डारीका अनुसार मुलुकी अपराधसंहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको थियो । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।
गत साउन २४ गते संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको प्रहरी र कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै प्रहरीले र कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।























