नेम्वाङको निधनमा एमालेले तीन दिन झण्डा झुकाउने, औपचारिक कार्यक्रम नगर्ने


काठमाडौं, भदौ २६ । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकपछि कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले अत्यन्त दु:ख, पीडा र शोकका बीचमा आकस्मिक सचिवालय बैठक गरिएको बताए । ‘हाम्रा उपाध्यक्ष सुवास नेम्वाङको गए राति १ बजेर ५० मिनेटमा हृदयघातबाट निधन भएको शोकको घडीमा सचिवालय बैठक बसेको हो,’ उनले भने, ‘उहाँप्रति बैठकले श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको छ ।’
नेम्वाङले हरेक भूमिकामा आफूलाई खरो सावित गरेको ज्ञवालीले बताए । ज्ञवालीका अनुसार शोकमा ३ दिनसम्म झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको छ । ‘पार्टीका सबै औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित भएको छ,’ उनले भने, ‘असोज २ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको छ ।’
नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिने उनले बताए ।






















