मध्यरातमा गरिएको प्रतिनिधीसभा विघटनको चौतर्फी बिरोध


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको चौतर्फी विरोध सुरु भएको छ ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधी चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा चौतर्फी विरोध हुन थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधी चुनावका लागि सरकारको तयारी महंगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी दिएका छन् ।
उनले लेखेका छन्,’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधीको रंगीन सपना महँगो पर्नेछ ।
त्यस्तै जनता समाजबादी पार्टीका नेता बाबुराम भट्राईले यो मध्यावधी चुनाव नभएर संघिय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने प्रपन्च भन्दै विरोधमा उत्रन आग्रह गरेका छन् ।
विघटनको विरोधमा विवेकशील साझा पार्टी पनि उत्रेको छ । पार्टीका संयोजनक मिलन पाण्डेयले प्रम र राष्ट्रपति मिलेर संसदको हत्या गरेको आरोप लगाएका छन् । ‘यो सत्ता कव्जा गर्ने षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘हामी चुप लागेर बस्दैनौ ।























