स्वतन्त्र राजनैतिक समुह पश्चिम नवलपरासीद्धारा अविनाश राजभरलाई सहिद घोषणा गर्न माग


नवलपरासी/स्वतन्त्र राजनैतिक समुह पश्चिम नवलपरासीले बुधबार (हिजाे) सुस्तामा शसस्त्र प्रहरीको गोली लागी ज्यान गुमाएका अविनाश राजभरलाई सहिद घोषणा गर्न माग गरेको छ ।
आज प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै सो समुहले अन्य विकल्प रहदा रहदै गोली चलाईएको दाबि गर्दै निष्पक्ष छानविन गरी दोषि माथी कारवाहीको माग गरेको सो समुहका जिल्ला संयोजक राधेरमण पाण्डेले जानकारी दिनुभयो । शसस्त्र प्रहरीले लाठि चार्ज, अश्रु ग्यास प्रहार, हवाई फायर लगाएतका विकल्प प्रयोग नगरी स्थानिय माथी एक्कासि गोली प्रहार गर्नु गलत भएको भन्दै घटनाको र्भत्सना गरिएको छ ।
ज्ञापनपत्रमा गृहमन्त्रीलाई बोधार्थ उल्लेख गरिएको छ । आजै स्वतन्त्र राजनैतिक समुहले एक विज्ञप्ती जारी गरी सिमानामा रहेका शसस्त्र प्रहरीका सबै क्याम्प हटाउन पनि माग गरेको छ । प्रहरी जनतामैत्रि बन्न नसकेको भन्दै सबै पोष्ट हटाउन माग गरिएको संयोजक पाण्डेले बताउनुभयो । मृतक अविनाश राजभर स्वतन्त्र राजनैतिक समुहका जिल्ला सदस्य बच्चा राजभरका छोरा हुन् । स्वतन्त्र राजनैतिक समुह संघिय सरकारका स्वास्थ्य तथा जनसङख्या मन्त्री हृदयस त्रिपाठीले नेतृत्व गरेको समुह हो ।
हिजो सुस्ता गा. पा. ५ बनकट्टि स्थीत भारतिय सिमावर्ति नाकामा स्थानिय र प्रहरी बिच भएको विवाद प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको थियो । सो घटनाको छानविनका लागी हिजै गृहमन्त्रालयले गृहमन्त्रालयका सहसचिव कृष्ण प्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरेको छ ।
स्थानियले प्रहरीले सिमावर्ति बासिन्दा माथि दमन गरेको बताउदै आएका छन् भने प्रशासनले प्रहरी माथी ढुंगा मुढा भएपछि स्थीति नियन्त्रणमा लिन अन्तिम अवस्थामा गोली लगाएको दाबि गरेको छ । यस्तै आज मृतकका आफन्तले शव बुझेका छन् ।























