बुटवलमा एमालेको लुम्बिनी प्रदेश अधिवेशन सुरु


बुटवल, भदौ १६ । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलमा सुरु भएको छ । बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो उद्घाटन गरेका हुन् ।
सम्मेलनको उद्घाटन सत्रमा एमालेका उपाध्यक्षहरु विष्णुप्रपाद पौडेल, युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्याल लगायत पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको छ ।
सम्मेलनमा भाग लिन प्रदेशभरबाट एक हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् । त्यसमा १२ वटै जिल्लाका ८२ हजार ८ सय ९५ पार्टी सदस्य र विभिन्न २३ वटा जनसंगठनहरुबाट छनोट भएका हुन् । अधिवेशनले सोमबारसम्म नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । यसअघि लुम्बिनीमा ५७६ सदस्यीय कमिटी थियो । अधिवेशनले प्रदेश संगठन कमिटीलाई घटाएर २०५ सदस्यीय बनाउने तयारी गरेको छ ।
अधिवेशनबाट नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालको बीचमा प्रतिष्पर्धा हुने देखिएको छ ।






















