कपिलवस्तुमा आइजिपीले निर्देशन दिए पनि सीमा क्षेत्रमा तस्करी चलखेल उस्तै


कपिलवस्तु । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल गत बिहीबार कपिलवस्तु जिल्लाको स्थलगत निरीक्षणबाट फर्केका छन् । त्यस बखत उनले राजस्व छली नियन्त्रण र सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न मातहतलाई निर्देशन दिएका थिए । तर ‘नानीदेखि लागेको बानी’ भनेझैं राजस्व छली र तस्करी नियन्त्रणमा सशस्त्रको स्थानीय इकाइमाथि त्यसपछि पनि प्रभावकारी भूमिका नखेलेको आरोप लागेको छ ।
अघिल्ला दुई आर्थिक वर्षमा पाँच करोड बढीका अवैध सामान बरामद गरेको सशस्त्रको २८ नम्बर गणले गत आव दुई करोड ५० लाखको त्यस्ता सामान बरामद गरेको थियो ।
दुई दिनपछि भदौ ५ गते कपिलवस्तु प्रहरीले तीन स्थानबाट दुई लाख ३० हजार बढीका अवैध तवरले ल्याइएका सामग्री बरामद गर्यो । मर्यादापुर बिओपी क्षेत्रअन्तर्गतको रंगपुर नाकाबाट भन्सार छलेर ल्याइएको दुई लाख १० हजार बराबरको पुरुष र बालबालिकाका दुई लाख १० हजार मूल्यका चप्पल र जुत्ता कोदहवामा नेपाल प्रहरीले पक्राउ गरेको बताइन्छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाटै खटिएको टोलीले उक्त सामान बरामद गरेको थियो । मर्यादापुर प्रहरी चौकी र चाकरचौडा प्रहरी चौकीलेसमेत ३० हजार बढीका अवैध तवरले ल्याइएका खाद्यान्न पक्रेर भन्सारमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार कपिलवस्तु प्रहरीले तौलिहवाको रामघाट पुल नजिकैबाट ६४ बोरा अवैध चिनीसहित मिनीट्रकलाई नियन्त्रणमा लियो । गोप्य सूचनाका आधारमा प्रहरीले अगाडि रातो नम्बर प्लेटको लु.१ क ५४५२ र पछाडि कालो नम्बर प्लेटको लु.२ ख ५४८६ नम्बर लेखिएको मिनी ट्रकमा हालिएको ६४ बोरा चिनी बरामद गरेको थियो । उक्त चिनी मर्यादापुर सीमा क्षेत्रबाट ल्याइएको चालकले बयान दिएका छन् । तीन लाख मूल्य पर्ने चिनी र सवारी साधनलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि मर्यादापुर भन्सारमा दाखिला गरेको छ ।
यी घटनाले सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न चिन्ह खडा गरिदिएको छ । सीमानामा अवैध कार्य हुन नदिन सशस्त्रले सीमा क्षेत्रकै चाकरचौडा र कृष्णनगरमा गुल्मसमेत खडा गरेको छ । तर कृष्णनगरका सशस्त्र प्रहरी बलका डिएसपी रमेश थापा मगरमाथि व्यापारीसँग मिलेमतो गरेको आरोप एकथरीले लगाएका छन् । डिएसपी रमेशले भने उक्त आरोपमा कुनै सत्यता नभएको बताए । हरदौना, भिल्मी, गणेशपुर एरियाबाट चामल तस्करी हुने गरेको स्थानीयको भनाई छ । केही दिनअघि मात्र चामल तस्कर र भन्सार अधिकृतबीच विवाद हुँदा डिएसपीले असहयोग गरेको बताइएको थियो ।
यसैगरी चाकरचौडाबाट निर्वाध ढंगले तस्करी हुने गरेको बताइन्छ । नजिकैको हथिहवा दोहनी, मर्यादापुर, तुलसीडिहवालगायत विओपी क्षेत्रबाट अवैध रुपमा चामल, टायल, सुर्ति, कपडा, राँगा तस्करी हुने गरेको पाइएको छ ।























