जनताको हकहीतमा काम गर्न पूर्वमन्त्री महेश्वर गहतराज अथकको निर्देशन


कपिलवस्तु, भाद्र ७ । कपिलवस्तुको कृष्णनगरमा रहेको मुस्लिम कमिटी हलमा जनतासँग माओबादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको पूर्ण बैठक बसेको छ ।
नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खांको अध्यक्षता, प्रमुख अतिथिमा पूर्वमन्त्री तथा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज (स्थायी कमिटी सदस्य) महेश्वर गहतराज अथक, विशिष्ट अतिथिमा पूर्वमन्त्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य वकिल मुसलमान, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका कोषाध्यक्ष निर्दोष अली, कपिलवस्तु जिल्ला संयोजक (विष्णु बेल्वासे), अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका जिल्ला समान्वय समिति सदस्य तोफेल अहमद खां रहेका थिए ।
प्रमुख अतिथि पूर्वमन्त्री महेश्वरले कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, पछडिएका, लोपोन्मुखको हक अधिकार दिलाउनमा माओबादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको तथा पार्टीका सदस्य तथा समर्थकहरूलाई देश विकास र जनताको हकहीतको आवाज उठाई आवश्यकता अनुसार सहयोग गर्न समेत निर्देशन दिए ।
यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वकिल मुसलमानले कृष्णनगर क्षेत्र कपिलवस्तुको प्रमुख व्यापारिक नाका रहेकाले यसलाई सबै मिलेर विकासको अग्रपंक्तिमा लैजानुपर्ने बताए ।
त्यसैगरी उपाध्यक्ष मौलाना मशहूदले स्वागत मन्तव्य राख्दै घरघरमा माओबादी केन्द्र पुगेर जनताको राय सुझाव सल्लाह अनुसार अगाडि बढ्ने तथा सम्मानीय पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड आएदेखि देश र जनताको अवस्था परिवर्तन हुँदै गएको तथा भ्रष्टाचार नियन्त्रण हुँदै गएको बताए ।
कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश प्रसाद बन्जाडेले कार्यक्रम संचालन गरेका थिए ।























