नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव


काठमाडौँ, भदौ ७ । लेबनानले आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटमा उक्त प्रस्ताव गरेका हुन् ।
लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएको मन्त्रालयका सह–सचिव राजीव पोखरेलले जानकारी दिए । उनले भने ‘लेबनानले कामदार लैजाने प्रस्ताव गरेको थियो । श्रम समझदारी गरौँ । श्रमिकहरू पठाऊ भन्ने थियो । हाम्रोमा राम्रो सेवा सुविधा छ । अवसरहरू पनि धेरै छन् भन्नुभएको थियो ।’
श्रम समझदारीको ड्राफ्ट तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल १ हजार २०० नेपाली रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् । लेबनानले विशेष गरी घरेलु कामदार लैजाने प्रस्ताव गरेको हो ।























