चन्द्रमामा पुग्यो भारत, रच्यो इतिहास


नन्द किशोर कुर्मी (लालु)
काठमाडौ, भदौं ६ । भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ । बुधबार साँझ भारतले पठाएको चन्द्रयान- ३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।
नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ । इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो।जुलाई १४ मा चन्द्रयान- ३ प्रक्षेपण भएको थियो । चन्द्रयान- ३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन् । ल्यान्डरको नाम विक्रम राखिएको छ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो । विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ। प्रज्ञानको तौल २६ किलो छ।
सन् २०१९ मा भारतले पठाएको चन्द्रयान- २ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो । इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपाली सच्याइएको बताएका छन्।
यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत संघले चन्द्रमामा यान पठाएका थिए । तर उनीहरू सबैले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान पठाएका थिए । अमेरिकाले पटक-पटक अन्तरिक्षयात्री पठाएको छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक हो । प्रज्ञान रोभरले अब चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्ने छ।























