हृदयाघातका कारण सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

नवलपुर टुडे
२०८० भदौ २ | मध्यान्ह ०३:०५ बजे

पर्सा, भदौ २ । पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । ४३ वर्षीय थपलियाको वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजेतिर निधन भएको हो ।
बिहान करिब साढे १० बजेतिर साइक्लिङ गरेर कार्यालय फर्केका थपलियाले सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई छातीमा असजिलो महसुस भएको बताएका थिए । लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचारको क्रममा उनको निधन भएको हो । उनको हृदयाघात (हार्ट अट्याक) का कारण मृत्यु भएको अस्पतालले जनाएको छ । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।























