आँखा पाक्ने रोगको संक्रमण बढेपछि पाल्पाको रम्भा र रामपुरका विद्यालय बन्द


पाल्पा, साउन ३२ । पाल्पामा आँखा पाक्ने रोगको संक्रमण बढेपछि रम्भा गाउँपालिका र रामपुर नगरपालिका क्षेत्रका दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन् । विद्यालयमा ५० प्रतिशत भन्दा बढी विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएपछि स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको समन्वयमा विद्यालय बन्द गरिएको हो ।
विद्यालयमा बालबालिका बढी प्रभावित भएपछि रामपुर नगरपालिकाभित्रका प्याब्सनअन्तर्गतका सबै विद्यालयमा बिदा दिइएको छ । रामपुरको रामपुर बोर्डिङ, भूपू सैनिक, आनन्द निकेतन, रजघरा बोर्डिङ, गेझा सनराइज, विजयपुर इङलिस बोर्डिङ स्कुल, कृष्णादेवी मावि भलायटारले बिदा दिएको रामपुर नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको र सबै सामुदायिक तथा संस्थागत विद्यालयको अवस्थालाई मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिको बैठक बसेर स्थानीय विद्यालयमा बिदा दिन सकिने व्यहोरासहितको सूचना जारी गरेको हो । सोहीअनुसार आँखा पाक्ने रोगको समस्या बढ्दै गएकाले आँखाको सुरक्षासम्बन्धी सचेत गराउनसमेत आग्रह गरिएको छ ।
यस्तै, रम्भा गाउँपालिकाअन्तर्गतका जनकल्याण मावि हुँगी र श्रीकृष्ण गण्डकी मावि असेर्दी हुँगीले केही दिनका लागि बिदा दिएको शिक्षा शाखा अधिकृत मीना आचार्यले बताइन् । स्थानीय बिदा र हिउँदे बिदा काटिने गरी बिदा दिइएको हो । जनकल्याण माविका शिक्षक नारायण भट्टराईका अनुसार विद्यालयमा ५० प्रतिशतभन्दा बढीमा आँखा पाक्ने रोगको संक्रमण देखिएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बिदा दिइएको हो ।
रम्भा गाउँपालिकाको स्वास्थ्य शाखाले सबै विद्यालयमा पुगेर आँखा पाक्ने रोगको संक्रमणका विषयमा सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले जानकारी दिए ।























