टिकौंली दुर्घटनाको दोषीलाई कारबाही गर्न प्रदेश सांसद खनालको माग


चितवन, साउन ३१ । चितवन क्षेत्र नं १ बाट निर्वाचित बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालले टिकौली दुर्घटनाका दोषीलाई कारबाहीको माग गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै खनालले रत्ननगरबाट शव लिएर दाहसंस्कारको लागि देवघाट आउँदै गरेको बोलेरो गाडी र सातवटा मोटरसाइकललाई अक्सफोर्ड कलेज गैंडाकोटको बसले ठक्कर दिँदा दुई दर्जन बढी घाइते भएको भन्दै सो दुर्घटना गराउने बसको चालकलाई कारबाहीको माग गरेका हुन् ।
सांसद खनालले विज्ञप्तिमा अक्सफोर्ड कलेजको बस चालकको गम्भीर लापरवाहीले सो भयानक दुर्घटना भएको भन्दै घाइतेहरुको उपचारमा ध्यान दिन सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् । त्यसैगरी उनले दुर्घटना पश्चात घाइतेहरुलाई उद्धार गरी अस्पताल लैजान सहयोग गर्ने सबैलाई विज्ञप्तिमार्फत् धन्यवाद व्यक्त गरेका छन् ।
सांसद खनालले भनेका छन्, ‘ घाइतेहरुको उपचारमा आवश्यक ध्यान दिन भरतपुर अस्पताल, पुरानो र नयाँ मेडिकल कलेजलाई विशेष अनुरोध गर्दै पीडित पक्षलाई आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषी सवारी चालकलाई कारबाही गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गर्दछु ।’























