विवादास्पद टेरामक्स प्रविधि कार्यान्वयन हुँदैन : प्रधानमन्त्री दाहाल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका फोन ट्यापिङ गर्नेसहितका प्रयोजनका लागिसमेत प्रयोग गर्न खोजिएको विवादास्पद टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताएका छन् । बालुवाटारमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले उक्त जानकारी दिएका हुन् । ‘नागरिकको फोन ट्याप गर्नेसहितको प्रविधि (टेरामक्स) लागू हुँदैन,’ प्रधानमन्त्री दाहालले भने, ‘उपकरणमा खरिदमा करोडौं रुपैयाँ खर्च भए पनि त्यो लागू हुँदैन ।’
नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको फोन ट्यापिङ गर्नेसहितको टेरामस्क प्रविधि भित्र्याएको छ । उसले टेलिफोन कम्पनीहरुलाई टेरामक्स प्रविधि अपनाउन दबाब दिँदै आएको छ । त्यसका लागि करोडौं मूल्यको प्रविधिसमेत नेपाल भित्र्याएको छ ।प्रविधिको विषयमा विवादास्पद टेरामस्क प्रविधि एक साताभित्र कार्यान्वयनमा ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले दिएको समयसीमा सकिएसँगै नेपालका प्रमुख सेवा प्रदायकहरू निर्देशनको पालनामा विभाजित देखिएका थिए ।
प्राधिकरणका अनुसार सफ्टवेयरमा आधारित टेरामक्स प्रणाली दूरसञ्चार प्रयोगकर्ताको चापलाई विधिसम्मत तवरले अनुगमन र नियमन गर्ने कार्यमा प्रयोग हुन्छ । यसले सम्पूर्ण कल डिटेल रेकर्ड (सीडीआर) को विवरण राख्नेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय इन्टरकनेक्सनको अवस्था नियाल्ने र जालसाजीको पहिचान तथा नियन्त्रण गर्ने काम गर्छ ।
प्राधिकरणले ०७४ सालदेखि नै टेरामक्स प्रविधि लागू गर्ने पहलस्वरूप आवश्यक प्रविधि र उपकरण खरिद गरिसकेको छ । ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढी लागतमा प्राधिकरणले भित्र्याएको उपकरण हालसम्म प्रयोगविहीन छ । विभिन्न कारणले अड्किँदै आएको उक्त प्रविधिको कार्यान्वयन एक साताभित्र गरिसक्न साउन ८ मा एक पत्रमार्फत प्राधिकरणले दुवै सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।
नेपाल टेलिकम सुरुदेखि नै सो प्रविधिको प्रयोग नगर्ने पक्षमा रहेपछि एनसेलले पनि त्यसमा असहमति जनाएको छ ।























