शिक्षा

कक्षा १२ को नतिजा प्रकाशन, असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा हुने

नवलपुर टुडे
२०८० साउन ३० | मध्यान्ह ०६:०४ बजे

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन् । अर्थात उनीहरूले ग्रेडेड प्राप्त गरेका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यो वर्ष गत वर्षको तुलनामा केही सुधार आएको बताए । 

नतिजा प्रकाशनका लागि बोर्डले दिउँसो बैठक बोलाएको थियो । नतिजा प्रकाशन गर्ने निर्णयपछि बोर्डले सार्वजनिक गरेको हो । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए । 

लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा नन ग्रेडेड (एनजी) हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । सोही आधारमा अब विद्यार्थीले जति विषयमा एनजी आएको छ त्यति विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन् । यसअघि दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

गत वर्ष उक्त निर्देशिका संशोधन गरेर जति विषयमा एनजी आएको छ त्यतिको मात्र परीक्षा दिनपाउने व्यवस्था गरेको थियो ।

s

कक्षा १२ को नतिजा : ६ हजार ९७६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए

कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए ।

गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए । 

त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको सदस्य सचिव अर्यालले बताए । गत वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीले एनजी ल्याएका थिए । जुन जम्मा विद्यार्थीको ५१.९० प्रतिशत थियो । यो वर्ष भने ४९.०९ प्रतिशत रहेको बोर्डले जनाएको छ । 

गत वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार आएको बोर्डले जनाएको छ ।

असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा हुने

राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुन लागेको हो ।

त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । 

यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन् । ती मध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेड बुद्धि परीक्षा दिन पाउनेछन् । 

प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा विद्यार्थीहरूले चित्त नबुझेमा १५ दिन भित्र ५०० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ ।

कमेन्टहरु