कपिलवस्तुको विजयनगर – ७ मा कार्यविधि २०७६ पालना नगरे कारबाही गरिने

नन्द किशोर कुर्मी/धर्मेन्द्र कुर्मी
कपिलवस्तु, साउन २९ । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ नं. वडा कार्यालयले गाउँपालिकाको कार्यविधि पालना नगर्ने नागरिकलाई कारबाही गरिने भएको छ ।
वडा नं. ७ ले खानेपानी, सरसफाई तथा वातावरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ लाई कार्यान्वयनमा जोड दिएको छ । वडाले विजयनगरमा दोस्रो चरणको खानेपानी तथा सरसफाईको अभियान सुरु गरेको जनाइएको छ ।
अहिले गाउँपालिकाले संशोधनसहित पारित गरेको खानेपानी सरसफाई कार्यविधि २०७६ लाई आधार मानेर फोहर गर्ने, गराउनेलाई दण्ड तथा जरिवाना गर्ने कानुन बनेको वडा अध्यक्ष दिनेश कुमार चौधरीले बताए । उनले सोमबार बसेको सर्वपक्षीय भेलामा उक्त जानकारी गराएका हुन् । उनले यो सरसफाई अभियान गाउँपालिकाभरि कडाइका साथ लागू हुने बताए । वडा अध्यक्ष चौधरीले वडा नम्बर ७ ले गत वर्षदेखि नै पूर्ण सरसफाई अभियान कार्यक्रमलाई निरन्तरता दिँदै आएको पनि बताए ।
सर्वपक्षीय भेलामा गत आर्थिक वर्षको सरसफाई कार्यक्रमको बारेमा समिक्षासमेत गरिएको बताउँदै सरसफाई अभियानले वडामा उल्लेखनीय परिवर्तन भएको र वडाबासीहरुमा सकारात्मक प्रभाव देखिएको बताए । पहिलो चरणको सरसफाई अभियान सकिएको जनाउँदै दोस्रो अभियान सुरु भएको र कडाई साथ वडामा सरसफाईको मापदण्ड कार्यान्वयन गरिने उनको भनाई छ ।
वडाले लागु गरेको सरसफाई कार्डको आधारमा तथ्याङ्क संकलन तथा शौचालयको अनुगमन गरिने, मदिरा पसलहरु दर्ता भए/नभएको अनुगमन गरिने, प्रत्येक टोलमा ५१ प्रतिशत जनताले सुन्ने गरि माइकिङ्ग गरिने जनाइएको छ ।
यस्तै खानेपानी, सरसफाई तथा वातावरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा पेश भई २०८० असार २८ गते संशोधन भएको दण्ड जरिवाना सम्बन्धी बुँदा नम्बर (४) शौचालयको प्रयोग र सरसफाई पूर्ण रुपमा गर्ने गराउने वडाले जनाएको छ ।
बाहिर दिसापिसाब गरेको अवस्थामा, बाटो अवरोध गर्ने, पशुचौपायाहरु बाटोमा बाँधे, सडकको छेउछाउमा विभिन्न निर्माण सामग्री राख्ने, फोहर गर्ने गराउने व्यक्तिलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्राप्त हुने सेवा सुविधा ३ देखि ६ महिनासम्म रोक्ने, एक पटकमा ५ सय देखि ५ हजार रुपैयाँको दरले जरिवाना काट्ने वा कानुन बमोजिम कारवाहीको व्यवस्था मिलाउने सर्वपक्षीय भेलाबाट सर्वसम्मतले निर्णय भएको छ ।























