घट्यो संक्रमण संख्या, संक्रमण भन्दा निको भएर घर फर्कने बढी


काठमाडौ । नेपालमा कोरोना भाइरसका दैनिक संक्रमितको संख्या घट्न थालेको छ । पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या ओह्रालो लागेको छ भने संक्रमण दर पनि घटेको छ ।
शनिबार ८ हजार एक सय ६४ जनामा संक्रमण देखिएको थियो । त्यसभन्दा अघि गत शुक्रबार नयाँ संक्रमितको संख्या ८ हजार पाँच सय २० थियो । २४ घन्टामा ७ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन्, यो संख्या शनिबारभन्दा कम हो ।
पछिल्लो समय कोरोना संक्रमितहरू निको हुने संख्या बढ्दै छ । शनिबार पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए भने शुक्रबार छ हजार १ सय ६५ कोरोना संक्रमित निको भएका थिए ।
आइतबार ६ हजार ६ सय ४८ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सिसिएमसीको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि बितेका दुई साता निकै कठिनपूर्ण रहेको भए पनि अब बिस्तारै अवस्थामा सुधार आउने बताएका थिए ।























