दाङमा चन्दा असुलीको आरोपमा दुईजना पक्राउ


दाङ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को लेटरप्याड प्रयोग गरी धाकधम्की दिएर चन्दा संकलन गरेको आरोपमा प्रहरीले तुलसीपुरमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो । सल्यानको त्रिवेणी गाउँपालिका-४ निवासी ३३ वर्षीय धनराज तुफान भनिने धनबहादुर परियार र सल्यानको छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका २९ वर्षीय चन्द्रप्रकाश विकलाई पक्राउ गरेको निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी राजनकुमार गौतमले बताए ।
उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को लेटरप्याड प्रयोग गरी गत चैत ३ गते तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित हिमाल एकेडेमीका प्रिन्सिपल मधसुदन केसीसँग १० लाख रुपैयाँ र चैत २१ गते तुलसीपुर उपमहानगरपालिका-७ बुढागाउँ पर्सेनी बस्ने पूर्वशिक्षक इन्द्रबहादुर वलीसँग एक लाख रुपैयाँ चन्दा मागेका थिए । उनीहरुले जेठ १८ गते सल्यानको कपुरकोटस्थित कालिका माविका शिक्षक वामदेव अधिकारीसँग ५ लाख र असार २७ गते तुलसीपुर उपमहानगरपालिका-१८ स्थित बेलझुण्डी माविका शिक्षिका जानका बस्नेतसँग एक लाख रुपैयाँ चन्दा मागी धम्काएको गौतमले जानकारी दिए । रकम मागेको विषयमा कसैलाई भने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना घट्न सक्ने चेतावनी दिँदै आएको डीएसपी गौतमले बताए ।























