ग्राण्डी अस्पतालमा ९ घण्टा लगाएर हात्तीपाइले रोगको सफल शल्यक्रिया


काठमाडौं, साउन २४ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाइले रोगको शल्यक्रिया सफल भएको छ । गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाइलेको ९ घण्टा लगाएर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो ।
म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी पुगेको थियो । उनलाई २० वर्ष अघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । प्रा.डा.श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यक्रिया भएको जानकारी दिए । उनले अप्रेसनका लागि ९ घण्टा समय लागेको बताए ।
डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मा सहितको टोलीले ती युवकको शल्यक्रिया गरेका हुन् । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि आज (बुधबार) अस्पतालबाट डिस्चार्ज गरिएको डा. श्रेष्ठले बताए ।























