लुम्बिनी प्रदेश

वर्षमान पुनद्वारा रोल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त

नवलपुर टुडे
२०८० साउन २४ | बिहान १०:०४ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो गृह जिल्ला रोल्पामा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएकामा दुःख व्यक्त गरेका छन् । पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठुलो मानवीय क्षति भएकामा मर्माहत भएको बताएका छन् । पुनले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतक परिवारमा समवेदना व्यक्त गरे ।

पुनले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्लाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन् । उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन् । रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन् ।

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस दुर्घटना त्रिवेणी गाउँपालिका–७ रिचीमा मंगलबार दुर्घटनामा परेको थियो । दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ बर्सिया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो । दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन् ।

प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

 

 

 
 

कमेन्टहरु