धनुषामा खोलाले बगाएर किशोरको मृत्यु, श्रीमान–श्रीमती बेपत्ता

नवलपुर टुडे
२०८० साउन २३ | मध्यान्ह ०४:०४ बजे

जनकपुरधाम, साउन २३ । धनुषामा खोलाले बगाएर एक किशोरको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
मंगलबार बसही खोलामा नुहाउने क्रममा मिथिला नगरपालिका – १ आनन्दपुरका १६ वर्षीय अजय यादवलाई खोलाले बगाएको थियो । उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
दाहालका अनुसार कमला खोलामा एक दम्पती बेपत्ता भएका छन् । गणेशमान चारनाथ नगरपालिका – ७ का ३५ वर्षीय साजन परियार र उनको श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएका हुन् । नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा बाढीले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ ।
उनीहरुको खोजीकार्य भइरहेको छ । कमला खोलामा पानीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीयलाई सचेत गराएको छ ।























