बाढी/पहिरो

सिक्रे दोभानमा पुरिनेको संख्या ७ पुग्यो

नवलपुर टुडे
२०८० साउन २३ | बिहान ०९:०४ बजे

काभ्रे । अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोला ५ र मकवानपुर जिल्ला बागमती गाउँपालिका ५ सिक्रेदोभानमा पहिरोका कारण एकै परिवारका ६ जना र बास बस्न आएका सिन्धुली घर भएका एक जना गरी ७ जना पुरिएका छन् ।

पुरिएका मध्ये एकको उद्धार भएको छ । उद्धार भएकाको मृत्यु भएको प्रहरी चौकी ताल्ढुंगाले जानकारी दिएको छ । खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला गाउँपालिका वडा नम्वर ५ घर भई बागमती गाउँपालिकामा ५ सिक्रेदोभानमा बसोबास गरिरहेका एकै परिवारका ६ जना पहिरोले पुरिएका हुन् ।

‘हिजो साँझ बास बस्न आएका सिन्धुलाीका पाल्साङ घिसिङ पनि पुरिएका छन्’–स्थानीय कुवेर थिङले घटनास्थलबाट जानकारी दिदै भने–‘३÷४ वटा घरहरु पुरिएका छन् । बस्ति बगर बनेको छ । कति हताहत भए भन्न कठिन छ । प्राप्त जानकारीमा एकै घरमा बसोबास गरिरहेका ७ जना पुरिएका छन् । एक जनाको उद्धार गरिएको छ ।’

पुरिनेहरुमा एकाघरका अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् । पुरिएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लगिएको थियो । बाटोमै उनको निधन भएको प्रहरीले बताएको छ । गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार घटनास्थलमा खोज र उद्धारको कार्य भईरहेको छ ।

अविरल वर्षातका कारण खानिखोला ५ मा रहेको दोश्रो लघु जलविद्युत्तको पाओर हाउस पुरिएको छ भने भवन पनि जोखिममा रहेको छ । अरनिको राजमार्गको बनेपा स्थित पुलबजार डुबानमा परेको छ । बनेपाकै १४ पेरुङ्गे सामुदायिक वन सँगै एउटा घर जोखिममा परेको प्रहरीले बताएको छ । उद्धारका लागि नेपाली सेना कालीजंग गण र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

जिल्ला स्थित विपद ब्यवस्थापन समितिले नाागरिकहरुलाई सुरक्षित रहन र विपद परेमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको सूचना सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मातहतका सबै सुरक्षा निकाय तथा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत नागरिकहरुको खोज, उद्धारमा लाग्ने गरी तयारीमा रहन अनुरोध गरिएको बताए ।

कमेन्टहरु