बाढी/पहिरो

काभ्रे पहिरो अपडेट : उद्धार गरिएको महिलाको मृत्यु, ४ जना अझै बेपत्ता

नवलपुर टुडे
२०८० साउन २३ | बिहान ०९:०४ बजे

काभ्रे, साउन २३ । काभ्रेमा पहिरोले पुरिएकामध्ये ६ जनामध्ये एकको मृत्यु भएको छ ।

जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका–५ स्थित सिक्रेदोभानस्थि बस्दै आएका अकलबहादुर स्याङतानको घर गएराती पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो ।

खानीखोला गाउँपालिकाका वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले गम्भीर अवस्थामा उद्धार गरिएको सञ्चमायालाई बागमती–५ स्थित् भोर्लेनीको एक मेडिकलमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार अंकलबहादुरसहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता छन् ।

गाउँपालिका अध्यक्ष थिङले उद्धार कार्यमा खटिन स्थानीय लगायत त्यस आसपासमा रहेका सबैलाई आग्रह गरेका छन् । बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्याँई हुन् । त्यस्तै तेज र देव्यणी उनको नाती नातीना हुन् । उनीहरु सबै एकै घरमा बस्दै आएका थिए ।

वडा अध्यक्ष स्याङ्तानले आफुसहित ताल्ढुंगा प्रहरी चौकीको टोली घट्ना स्थलतर्फ गइरहेको र मकवानपुरको बागमती गाउँपालिका भोर्लेनीमा रहेको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको जानकारी दिए । दुई दिनदेखि परेको अविरल वर्षाको कारण घरमाथिबाट पहिरोले घर पुरेको थियो ।

कमेन्टहरु