रामग्राम बौद्ध स्तुपा: सुरक्षा सन्दर्भ


नवलपरासी, साउन २२ । अघिल्लो हप्ता रामग्राम नगरपालिकाको उज्जैनीमा रहेको प्रसिद्ध स्थल बौद्ध स्तुपाको बारेमा चर्चा एकाएक चुलिएर आयो । तर चर्चा हुनुको खास कारण त्यहाँ कुनै मुलुकबाट स्तुपा भ्रमणको लागि आएको पर्यटकको घुईचोले गर्दा त्यसको व्यवस्थापनको चुनौती भएर आएको चाहीँ थिएन । चर्चा थियो त केबल त्यस क्षेत्रको सुरक्षाको ।
नागरिक समाज नवलपरासीको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा बौद्ध स्तुपा आसपासको क्षेत्र पर्यटकीय हिसाबले भन्दा पनि परासी तथा आसपासको क्षेत्रबाट लागु पदार्थ र मादक पदार्थ सेवन गरि आउने युवाहरुको आश्रयस्थल जस्तो भएको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा पोष्ट स्थापनाको लागि ज्ञापन पत्र बुझाइएको थियो । चर्चा त्यसकारण भएको थियो । नागरिक समाज नवलपरासीले गरेको उक्त प्रयास अत्यन्त सान्दर्भिक र समय सापेक्ष छ ।
नवलपरासी जिल्लाको सदरमुकाम परासीमा रहेको जिल्ला प्रहरी कार्यालय र अमानिगञ्जमा रहेको ईलाका प्रहरी कार्यालयबाट चार किलोमिटरको मध्य दुरीमा रहेको सो क्षेत्रमा प्रहरीको उपस्थिति नहुँदा सुरक्षा चुनौती बढ्नु स्वभाविक पनि हो । हुनत चार किलोमिटरको दुरी खासै टाढाको दुरी पनि होइन । नियमित प्रहरी गस्तीबाट सुरक्षा ब्यवस्था भरपर्दोरुपमा कायम भएको पनि छ ।
तथापि प्रहरीको तैनाथीसहित सुरक्षा पोष्ट स्थापनाको लागि नागरिक स्तरबाट आवाज उठ्नु समाजमा प्रहरीको अपरिहार्यता, विश्वास र भाइचाराको आभाष पनि हो । नवलपरासी जिल्लाको दक्षिणी सीमाना करिब २७.५ किमी भारतसँग जोडिएको छ । जिल्लाको भारतीय सीमा क्षेत्रमा सीमित संख्यामा रहेको प्रहरी कर्मचारीको उपस्थितिले गर्दा खुल्ला सीमानाको फाइदा उठाई हुने अबैध कार्य रोक्न प्रहरीलाई चुनौती रहेको छ ।
खुल्ला सीमानाकै कारण युवाहरु भारतको सीमावर्ती शहरमा गई लागु पदार्थ सेवन गरि सो क्षेत्रमा आई जमघट गर्ने र युवाहरुको (झुण्ड) समूह बनाई स-सानो निहुँमा झैझगडा गर्ने, एकआपसमा कुटपिट गर्ने र सामाजिक सञ्जालबाट तथानाम गालि गलौज गर्ने लगायतका घटनाहरु हुने गरेको सन्दर्भमा सुरक्षा चासो आम नागरिकको सरोकारको बिषय बन्नु स्वभाविक नै हो ।
नेपाल विविधताले भरिएको देश हो । नेपालको पहिचान बिश्व सामु चिनाउने अनेकौ आधारहरु रहेका छन् । सांस्कृतिक, भौगोलिक, धार्मिक र ऐतिहासिक आधारहरु त्यस मध्येका बिम्वको रुपमा रहेका छन् । नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको उज्जैनी स्थित झरुवा नदीको किनारमा रहेको बुद्धकालीन रामग्राम स्तुपाको यस क्षेत्रमा ठुलो महत्त्व रहेको छ ।
यो बौद्ध स्तुपा क्षेत्र धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । यस स्तुपामा भगवान् बुद्धको अस्थिधातु राखी निर्माण गरिएको आठ वटा स्तुपा मध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र स्तुपा नै रामग्राम स्तुपा हो । स्तुपा क्षेत्रको ब्यापक रुपमा प्रचारप्रसार र व्यवस्थित रुपमा व्यवस्थापन गर्न सकेमा पर्यटन विकासमा यसको महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न सहज हुन्छ ।
विभिन्न आलेख तथा कीर्तिहरुमा वर्णन भए अनुसार भगवान गौतम बुद्धका मातापिता सौर्य वंशका फरक महाजनपद र राज्यबाट हुनुहुन्थ्यो । उहाँका बुवा शुद्धोदन शाक्य राज्यका हुनुहुन्थ्यो भने आमा मायादेवी कोलिय राज्यका हुनुहुन्थ्यो । बौद्ध ग्रन्थहरुका अनुसार बुद्धको ई.पू ४८३ मा कुशीनगरमा गौतम बुद्ध महापरिनिर्वाण पछि उहाँको दाहसंस्कार गरिएको अवशेष सोह्र महाजनपदहरू मध्ये आठ वटा राजकुमारहरुलाई बाँडिएको थियो ।
प्रत्येक राजकुमारले आफ्नो राजधानी सहरमा वा नजिकै एउटा स्तुपा निर्माण गर्नुभयो । जसभित्र खरानीको सम्बन्धित भाग राखिएको थियो । कपिलवस्तु, शाक्य राज्यको राजधानी शहर भनिए तापनि यस स्तूपा रहेको स्थान विवादको विषय रह्यो । त्यहाँ पिपरहवामा निर्माण भएको प्रमाण अझै रहेको छ । सातौँ शताब्दीमा कपिलवस्तु र लुम्बिनीमा चिनिया यात्री फाहियान र हृवेनसांगले कोलिय गणराज्यको पनि यात्रा गरेका थिए ।
उनीहरूको यात्रावर्णनमा कोलिय गणराज्यको विनाश भइसकेको र रामग्रामको मूल स्तुपा यथास्थानमा रहेको उल्लेख गरेका थिए । सो स्तुपालाई हालसम्म रामग्राम स्तुपाका नामले चिन्ने गरिन्छ । जुन नवलपरासीको सदरमुकाम परासीबाट करिब ४ किलोमिटर दक्षिण उज्जैनीमा रहेको छ । यसलाई प्राचीन रामग्राम स्तुपा समेत मानिएको छ । यहाँ भएका विभिन्न उत्खनन पश्चात् रामग्राम यही हो भन्ने प्रमाणित गर्ने अभिलेख वा ऐतिहासिक स्रोत प्रमाण भने हाल सम्म भेटिएको छैन ।
भगवान गौतम बुद्धको अस्तित्वसँग जोडिएका यस्ता पुरातात्विक र सांस्कृतिक धरोहरहरु बिरलै अस्तित्वमा रहेका छन् । नेपालमा अझै पनि धेरै पुरातात्विक सम्पदाहरु रहेको र तिनिहरुको पर्याप्त सोधखोज र उत्खनन हुनुपर्ने देखिन्छ । प्रचारप्रसार र उचित मर्मतसम्भार तथा व्यवस्थापनको अभावले गर्दा यस्ता ऐतिहासिक तथा धार्मिक धरोहरहरु नेपालमा ओझेलमा पर्दै गैरहेका छन् । भगवान गौतम बुद्धको पबित्र जन्मस्थल लुम्बिनीको नजिक रहेर पनि यसको प्रचार प्रसार र विकासमा जुन किसिमको छलाङ हुनु पर्ने थियो त्यो हुन सकेको देखिदैन ।
संस्कृति र परम्परा सदियौंदेखि चलि आएका मुल्य मान्यता र संस्कारहरु राज्यका गहना हुन् । यसको जगेर्ना र संरक्षण गर्न सकेको खण्डमा राज्यको पहिचान र आर्थिक विकासको आधार समेत बन्न सक्दछ । स्थानीय सरकारबाट यसको प्रचारप्रसार र संरक्षणमा अझ ब्यापक रुपमा योजनासहित लाग्नु पर्ने देखिन्छ ।
स्तूपाले चर्चेको क्षेत्रको नाप नक्सासहित पहिचान गरि भरपर्दो र सुरक्षित तारजाली र वाल कम्पाउण्ड सहित दिगो रुपमा संरक्षण हुनुपर्ने देखिन्छ । विभिन्न मुलुकहरुबाट उक्त स्तूपा दर्शन र भ्रमणको लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्तूपा सम्बन्धी जानकारी गराउने संयन्त्र (गाइड) को व्यवस्थापन हुनु जरुरी छ । स्तुपा भ्रमण गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई व्यवस्थित रुपमा स्तुपाको बारेमा जानकारी सहित भ्रमण गराउन सकेको खण्डमा उनीहरुको माध्यमबाट स्तुपाको बारेमा स्वदेश तथा विदेशमा समेत प्रचारप्रसार गराउन सकिन्छ ।
जसले गर्दा लुम्बिनीको भ्रमण गर्न आउने पर्यटकहरुलाई एकपटक नवलपरासीको रामग्राम पुगौंपुगौं लाग्ने बनाउन सकिन्छ । लुम्बिनी भ्रमणको लागि आउने पर्यटकहरुलाई यहाँसम्म ल्याउन सकेको खण्डमा पक्कै पनि यसले नगरपालिकाको पर्यटन र आर्थिक विकासमा पनि टेवा पुर्याउन सक्छ र समग्रमा यसले देशको पर्यटनको सम्भावनालाई नै थप मजबुत बनाउँछ । हुनत यसको लागि विभिन्न प्रयासहरु पनि भैरहेका छन् । तथापी प्रयासको निरन्तरताको अभाव देखिन्छ ।
पर्यटकको घुइँचो बढ्दै गएपछि स्वभाविक अथवा टडकारो रुपमा सुरक्षा चुनौती जोडिएर आउँछ । नागरिक समाजले जुन चासो र चिन्ता व्यक्त गरेर उक्त क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्ने प्रसंग उठाउनु भएको छ, त्यो अत्यन्त दुरगामी महत्वको बिषय हो । मानिसको लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको गास, बास र कपास सँगसँगै सुरक्षासमेत जोडिएर आउने बिषय हो । आफूले चाहेको स्थानमा निर्वाध रुपमा घुम्न पाउने संबैधानिक व्यवस्थालाई अबरोध हुन नदिने सुरक्षा दायित्व प्रहरीसँग जोडिएको हुन्छ ।
तसर्थ रामग्राममा रहेको स्तुपा क्षेत्रको विकासमा सुरक्षा कदापी अलग रहेर बस्न सक्दैन र यसकै कारण कसैको इच्छा नामेट गर्ने काम कहिँकतैबाट पनि हुनदिनु हुँदैन । विकास र सुरक्षा भन्ने कुरा कुनै एकजनाको प्रयासमा मात्र सम्भव हुँदैन । तसर्थ स्तुपा क्षेत्रको विकास सँगसँगै आउने सुरक्षा चुनौतीलाई नागरिक समाज, स्थानीय सरकार र प्रहरीको हालेमालो सहितको संयुक्त प्रयासका साथ कार्य गर्न सकेमा अवश्य पनि बिना व्यवधान पार लगाउन सकिन्छ भन्ने कुरामा कुनै सन्देह नरहला ।
लेखक: जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय हुनुहुन्छ ।























