रौतहटमा रोकिएन तस्करी, तलदेखि माथिसम्मको संलग्नता


रौतहट, श्रावण २० । रौतहटमा अवैध कारोबार तस्करी नियन्त्रण गरिनुको सट्टा झन तीव्र रुपमा बढ्दै गएको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भए लगतै अवैध रुपमा हुने कारोबार तस्करी तथा रक्सी भट्ठी खुलेआम संचालनमा आएका हुन् ।
सीमावर्ती भारतीय बाजार बैरगनियाबाट मुख्य नाका भएर प्रहरीको संरक्षणमा खुलेअाम भारतीय टेम्पो मार्फत भारतीय सामानहरु नेपालमा भित्र्याइने कार्य भई रहेको छ । भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवान र भन्सार कार्यालयका कर्मचारीहरुले लाइन दिएपछि नेपाल भारत सीमामा निर्माण भएका पक्की पुलको दक्षिण तथा भारतीय कस्टमदेखि उत्तरबिच ठाँउमा ल्याई राखिएको सामान गौर बाजारमा ल्याउने गरिन्छ ।
गौर भन्सारमा केही महिना पहिला लक्ष्मीपुरदेखि बंकुलसम्म प्रमुखको जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक शुर्य तिमिल्सिनाले केही महिना नाकामा कडाइ गरेता पनि अहिले चोर नाकाहरुबाट धमाधम लाईन खोलाई तस्करी बढेको स्थानीयले बताएका छन् । गौर भन्सारबाट तथा चोर नाकाहरुबाट तस्करी नियन्त्रण गर्न भन्सार सुरक्षा गार्डको कमान्डमा प्रहरी सहायक निरीक्षक थिए ।
तर प्रहरी नायव निरीक्षक सिकेन्द्र साहको नेतृत्व हुँदा पनि तस्करी नियन्त्रण नभई झन बढेको स्थानीयहरुले बताएका छन् । सदरमुकाम गौरको छेउमै रहेको महादेवपट्टी भन्दा पश्चिम लालबकैयाको केरावारीबाट लाखौं मुल्य बराबरको कपडाको तस्करी भइरहेको बुझिएको छ । भने भारत बिहार राज्यको रौतहटसँग सिमा जोडिएको बैरगनियाकी कुख्यात तस्कर किरण भन्ने आईमाईले नेपाल प्रहरी र सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा लाखौंको तस्करी गरिरहेको स्थानीयले बताए ।
गौर भन्सारको मेन नाकामा सिसिटिभी क्यामेरा जडान गरेपश्चात् सुरक्षाकर्मीहरुले मेन नाकामा कडाइ गरी तस्करहरुका लागि चोर नाकाहरु सुचारू गरेका छन् । गौरको पुर्वमा रहेको लक्ष्मीपुर बेलबिक्षवा, अौरैया, महुलिया, बन्जरहा जस्ता खुला नाकाहरुबाट खुलेआम तस्करी भइरहेको पाइन्छ । जिल्लाको गौर भन्सार नाकाबाट बेलाबेलामा सानोतिनो तस्करी भई रहेपनि पनि ठुल-ठुला तस्करका लागि सुरक्षाकर्मी कै सेटिङ्गमा चोर नाकाहरु रात्री समयका लागि खुला गरिएको नाम नखुलाउने सर्तमा एक व्यक्तिले बताए ।
बोर्डरमा भारतीय सिमा सुरक्षा बलका जवान तथा कस्टम कार्यालयका कर्मचरीहरु ड्यूटी गरि रहन्छन् । तरपनि तस्करी कार्यमा संलग्न भएको तस्करहरुले भारतका प्रहरी प्रशासनको प्रमुख तथा नेपालका प्रहरी प्रशासनको ठूलाबडा हाकिमलाइ मिलाएको कारण तस्करी खुल्याम भईरहेको स्थानीयले बताउँछन् ।
रौतहटको राजपुरमा प्रत्येक हप्ताको दुईदिन सयौंको संख्यामा राङ्गा आयात हुन्छन् । रौतहटकै पश्चिमी नाका रामपुर खापबाट शेख नुरसैदले चिनी, रजनिगंधा र नेपालमा प्रतिबन्धित सागर दुधको तस्करी गर्ने गर्दछन् भने शेख असरफ भारतीय अौषधी, चिनी र राजनिवास कुट्काको तस्करी गर्ने गर्छन् । बरकत मंसुरी, शेख लम्बु, कान्छा भन्ने व्यक्ति तस्करीको मामिलामा मधेस प्रदेशमै प्रचलित रहेको र नुनदेखि सुनसम्मको कारोबार गर्ने गरेको स्थानीयले बताएका छन् ।
ज्याउल मंसुरी र शेख इन्ताजुल दुवै जना रौतहटकै मोतीपुर नाकाबाट राङ्गा, भैंसी, गोरु र कपडाको तस्करी गर्ने गर्दछन् । रौतहटको पश्चिमी नाकाबाट जितेन्द्र साहले रुपैयाँको हुण्डी र प्रतिबन्धित अौषधीको खुलेआम तस्करी गरिरहेको नाम नखुलाउने सर्तमा बताएका छन् । भने बंकुल नाकाबाट भारतीय तोरीको पिना ट्रक कै ट्रक तस्करी गरि मधेस प्रदेशको ८ अोटै जिल्लामा नेपाली बिलबिजक बनाई सप्लाई गर्ने गर्छन् ।
भारतको बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालबाट सुरक्षाकर्मीको संरक्षणमा शौफी नामक रक्सी र ब्रान्डेड रक्सी तस्करी गरि लैजाने कार्य भइरहेको छ । रौतहटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको केही मात्रामा सादा पोसाकमा घुम्ने प्रहरीले झन रौतहटमा तस्करी गराई रहेको र देश आर्थिक संकटसँग जुधिरहेको बेला राजस्व चुहावटमा कुनै कसर बाँकी नछाडेको स्थानीयले बताएका छन् ।
रौतहट जिल्ला तस्करीमा पुरै बदनाम रहेको हुँदा सशस्त्र तथा जनपदका प्रहरीले तस्करी नियन्त्रणमा जोड दिएपनि १ दुई महिना कट्दा पुन: पुरानै ढाँचामा तस्करी झन मौलाउने र सर्वसाधारणलाई दुख दिने गरेको स्थानीयहरुले बताएका छन् । दशगजा क्षेत्रमा रक्सी भट्ठी सञ्चालन रहेको अवस्थामा पनि रौतहटका स्थानीय प्रशासले कुनै चासो देखाएका छैनन् । भारतीय सिमा क्षेत्रबाट ५ सय मीटर भित्र रक्सी विक्री वितरण तथा उत्पादन गर्न प्रतिबन्ध लगाइएको सुचना सार्वजानिक गरिए पनि त्यसको पूर्ण कार्यान्वयन भएको देखिँदैन ।
बोर्डर छेउमा रहेको रक्सी पसलहरुमा प्रति दिन रक्सीले भरी पिकअप पुग्ने गर्छन् तर सोही रक्सीहरु रात्रीकालिन समयमा सुरक्षाकर्मीहरुको सेटिङ्गमा भारतको विभिन्न राज्यमा पुग्ने गरेको स्थानीयले बताएका छन् ।























